Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पानी नपर्दा ओइलिए अलैँचीका बोट

हाम्रो कोशी आवाज
फाल्गुन २६ २०७९, शुक्रबार
पानी नपर्दा ओइलिए अलैँचीका बोट

ताप्लेजुङ- पर्याप्त वर्षा नहुँदा नगदेबालीका रूपमा रहेको अलैँचीका बोट सुक्न थालेका छन्। ताप्लेजुङका ग्रामीण क्षेत्रमा लगाइएको अलैँची खेती सुक्न थालेपछि किसान चिन्तित बनेका छन्। यस वर्ष पर्याप्त वर्षा नहुँदा र लामो समय खडेरी परेका कारण अलैँचीका बोट सुक्न थालेका किसानले बताएका छन्।
सिरीजंघा गाउँपालिका–७ खेवाङका गंगाराम भट्टराईले यस वर्ष पाइप तथा कुलोबाट समेत सिँचाइ गर्न नसकिएको बताए। उनले भने, ‘पाइप र कुलोबाट गरिएको सिँचाइले अलैँचीलाई पर्याप्त पानी पुगेन । आकाशको पानीले बोट फस्टाउने र उत्पादन वृद्धि हुन्छ।’
फक्ताङलुङ गाउँपालिकाको तापेथोक बगरका किसानले पनि अलैँचीका बोट सुक्न थालेका बताएका छन्। खोला तथा खोल्साको पानी अलैँची बगानमा लगाए पनि अलैँचीखेतीलाई पर्याप्त नभएको उनीहरुले बताएका छन्। लामो समय खडेरी परेकाले अलैँचीमा रोग कीराको समेत प्रकोप बढ्ने अलैँची व्यवसायी बालमणि बरालले बताए। रोग कीराले सिँचाइको अभावमा कमजोर बनेका बोटलाई सजिलै आक्रमण गर्ने र यसबाट क्षति पुग्ने उनको भनाइ छ।
ताप्लेजुङमा करिब तीन हजार सात सय हेक्टर क्षेत्रफलमा अलैँचीखेती हुने गरेको छ। केही दिनअघि फाट्टफुट्ट वर्षा भए पनि अलैँचीका लागि पर्याप्त नभएको किसानले बताएका छन्। लामो समयपछि फाट्टफुट्ट वर्षा भएर पुनः चर्को घाम लाग्दा अलैँचीलाई झन् असर हुने गरेको उनीहरूले बताए।
खडेरीले बोट नै सुकेपछि अलैँची उत्पादन घट्ने भएकाले किसान चिन्तामा छन्। भनेजस्तो मूल्य नपाइरहेका बेला उत्पादनसमेत घटेमा समस्या हुने सिरीजङ्घाका किसान लक्ष्मण अधिकारीले बताए।
‘पछिल्लो समय भनेजस्तो मूल्य छैन, अलैँची खेतीमा ठूलो लगानी छ, त्यसमाथि यसपटकको खडेरीले अलैँचीखेतीलाई क्षति पुग्यो, उत्पादन घट्ला भन्ने छ, यसले अलैँचीमा निर्भर रहेका किसानलाई समस्या हुन्छ’, उनले भने।
हिमाली तथा पहाडी जिल्लाका किसानले अलैँचीलाई मुख्य आयस्रोतका रूपमा लिने गरेका छन्। केही वर्षअघि अलैँचीको मूल्य बढ्दा धेरैले खेतबारी नै मासेर अलैँचीखेती गर्दै आएका छन्। प्रतिमन (४० किलो)को मूल्य एक लाख बढी भएका समयमा ग्रामीण क्षेत्रका किसानले खेतबारी मासेरै अलैँची खेती लगाएका हुन्।

प्रकाशित मिति: फाल्गुन २६ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend