Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जहाँ थालियो व्यवसायिकरुपमा गुन्द्रुकको उत्पादन

हाम्रो कोशी आवाज
फाल्गुन २९ २०७९, सोमबार
जहाँ थालियो व्यवसायिकरुपमा गुन्द्रुकको उत्पादन

इलामः इलामको रोङ गाउँपालिकाले कारखाना स्थापना गरेर व्यावसायिक रूपमा गुन्द्रुक उत्पादन शुरू गरेको छ।
गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रूपमा गुन्द्रुक उत्पादन थालिएको बताए। गुन्द्रुक ‘ब्रान्डिङ’ गरेर बजारमा लैजाने तयारी भइरहेको उनको भनाइ छ। गुन्द्रुकको बजार राम्रो रहेकाले गाउँपालिकाले गुन्द्रुक उत्पादनमा जोड दिएको हो। गुन्द्रुक बजार पुर्‍याइसकेपछि ८० प्रतिशतभन्दा बढी रकम गाउँमा आउने अध्यक्ष स्याङ्बो बताउँछन्।
स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारी समेत सिर्जना हुने भएकाले पनि गुन्द्रुक उत्पादनलाई अगाडि बढाइएको अध्यक्ष स्याङ्बो बताउँछन्। गुन्द्रुक उत्पादनका लागि कारखाना नै सञ्चालन गरिएको छ। गुन्द्रुक उत्पादनमा सरसफाइलाई विशेष ध्यान दिइएको छ। सागलाई तीन पटकसम्म धोएर मात्र ‘प्रोसेसिङ’को काम अगाडि बढाइने अध्यक्ष स्याङ्बोको भनाइ छ।
बजार नभएर प्रायः खेर जाने सागबाट गाउँपालिकाको अग्रसरतामा गाउँमै गुन्द्रुक उत्पादन हुन थालेपछि किसानहरू खुसी भएका छन्। साग गाउँमै बिक्री हुने भएपछि खेती गर्न पनि जाँगर चलेको रोङ-५ की मेनुका राई बताउँछिन्। रायोको साग प्रतिकिलो १६ रुपैयाँमा बिक्री हुँदै आएको छ। सहकारीमार्फत यसको काम अगाडि बढाइएको छ।
गाउँपालिकाले सागको न्यूनतम समर्थन मूल्य प्रतिकिलो १० रुपैयाँ निर्धारण गरिएको अध्यक्ष स्याङ्बोले बताए। साग गाउँपालिकाको कारखानालाई दिने किसानले सागमा प्रतिकेजी ६ रुपैयाँ अनुदान पनि पाउने व्यवस्था गाउँपालिकाले गरेको छ। त्यस्तै‚ गुन्द्रुकमा प्रतिकिलो ८० रुपैयाँ अनुदानको व्यवस्था छ। -रासस

प्रकाशित मिति: फाल्गुन २९ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend