धरानः धरानमा आन्तरिक राजश्व कार्यालयको सहजीकरण र सुनसरी उद्योग वाणिज्य संघको पहलमा व्यवसायीहरुलाई सहजीकरणका लागि हेल्प डेक्सको शुरुवात भएको छ ।
आन्तरिक राजश्व कार्यालयको तथ्याङ्क अनुसार धरानमा ७ सय करदाता छन् । हाल मिस म्याचमा परेका करदाताहरुले ५ हजारदेखि २५ हजारसम्म तिर्नुपर्ने देखिन्छ भने धरान राजस्व कार्यालयको तथ्याङ्क अनुसार कारोबार नगरेका तर राज्यलाई थाहा नभएका व्यवसायीहरु (ननफाइलर) विवरण नबुझाएका तर बर्सेनि करको भार बेहोरिरहेका मूल्य अभिवृद्धि करतर्फ ६ सय ९ जना करदाता रहेका छन् ।
व्यवसायीले आय विवरण र राजश्व दाखिला गर्दा कारोबार अङ्क फरक हुने समस्या (मिस म्याच) बढेपछि आन्तरिक राजश्व कार्यालय धरानका कर प्रमुख गोविन्दराज आचार्यको अध्यक्षतामा आर्थिक ऐन २०७९ दफा २९ ले दिएअनुसार डे १–डे० २ विवरण पेश गरेका करदाताहरुको कारोबार अंकमा फरक परेका करदाताहरुलाई छुट सुविधाबाट लाभान्वित हुन सक्ने करदाताहरुलाई सहजीकरण गर्ने उद्देश्यबाट छुट सुविधा लिने प्रक्रियाको बारेमा कर शिक्षासहित उद्योग वाणिज्यका प्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रम भएको थियो । कार्यक्रमपश्चात सुनसरी उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालयको सहकार्यमा हेल्प डेस्क समेतको स्थापना गरिएको हो ।

आर्थिक वर्ष ०७७-७८ सम्म आफ्नो कारोबार घोषणा गर्दा वास्तविक कारोबार अङ्क फरक भएमा प्रत्येक आर्थिक वर्षको वास्तविक कारोबार घोषणा गरी फरक परेको बिक्री रकमको एक दशमलव पाँच प्रतिशत व्यवसायीले दाखिला गर्नु पर्ने हुन्छ । २०७९ जेठ १४ सम्म कर निर्धारण भइसकेकाको हकमा आयकरतर्फ संशोधित कर निर्धारण र मूल्य अभिवृद्धि करतर्फ कर निर्धारण भई बक्यौता रहेका करदाताले कर निर्धारण गर्दा कायम रहेको थप बिक्री रकमको १.५ प्रतिशत कर दाखिला गर्नुपर्ने हुन्छ भने यो व्यवस्था आगामी चैत्र मसान्तसम्म रहने आन्तरिक राजस्व कार्यालय धरानले जनाएको छ । यो सुविधा नलिने करदाताहरुलाई प्रचलित कानूनअनुसार कर निर्धारण हुने र थप करको भार बढ्ने राजस्व कार्यालय धरानका कर प्रमुख आचार्यले जानकारी समेत दिएका छन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठले व्यवसायीहरुलाई करका कतिपय विषय ज्ञान नभएका कारण करमाथि जरिवाना तिर्नुपर्ने अवस्था आएकाले व्यवसायी आफै सचेत हुनुको साथै हेल्प डेक्सले मिस म्याच र ननफाइलर व्यवसायीलाई लाभान्वित हुने बताए । उनले व्यवसायीहरुलाई अवसरका रुपमा सदुपयोग गर्न सुझाव दिएका छन् । कर शिक्षा तथा मिस म्याचबारे जानकारीका लागि धरान कर कार्यालयका प्राविधिक (आइटी विभाग) अधिकृत गोविन्द पौडेलले सहजीकरण गरेका थिए । उनले व्यवसायीहरुले आय विवरण र कर दाखिला गर्ने विषयमा उठेका प्रश्नमा उत्तर पनि दिएका थिए ।
आयकरतर्फ १६ हजार करदातामा ५० प्रतिशत ननफाइलर रहेको प्रमुख आचार्यले जानकारी गराए । चैत्र मसान्तसम्म आन्तरिक राजस्व कार्यालयले २२ करोड कर उठाउने लक्ष्य निर्धारण गरेको छ । जसमध्ये आयकरतर्फ १४ करोड, मूल्य अभिवृद्धि करतर्फ ४ करोड बढी र अन्तः शुल्कतर्फ १ करोड ५९ लाख उठाउने लक्ष्य रहेको समेत कर प्रमुख आचार्यले थप जानकारी दिए । कार्यक्रम गर्नुको मूल उद्देश्यमाथि आयकर अधिकृत डिकबहादुर घिमिरेले प्रकाश पारेका थिए ।
हेल्प डेक्स उदघाटन कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघ धरानका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठ, द्वितीय उपाध्यक्ष रामस्वरुप शर्मा, महासचिव महेन्द्र प्रधान र सदस्यहरुमा जयप्रकाश शर्मा, शैलेश आचार्य, राजु शाह, स्तुति श्रेष्ठ र विष्णु बराल समेतको उपस्थिति थियो ।
तस्वीरः लक्ष्मण थापा