धरानः सुनसरीको चतरामा कुम्भमेलाको तयारी थालिएको छ ।
२०८० साल चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि तृतीयासम्म एक महिना चतराधाममा महाकुम्भ मेला आयोजना हुने जनाइएको छ । नेपालको एक मात्र कुम्भस्थलको रूपमा रहेको चतराधाममा यसअघि चारपटक कुम्भ मेला सम्पन्न भइसकेका छन् ।
बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख आतिथ्यमा आयोजना भएको छलफल तथा अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले मेलालाई व्यवस्थित बनाउनुपर्ने जोड दिएका थिए । प्रथम जगतगुरु पीठ चतराधामका सचिव उद्भव घिमिरेले अहिलेदेखि नै मेलालाई व्यवस्थित बनाउन तयारीका साथ जुटिरहेको बताए ।
मेलालाई व्यवस्थित तथा भव्य बनाउन नगरपालिकाले नेतृत्व गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । नगर प्रमुख कार्कीका अनुसार २०८० साल चैत्रबाट लाग्ने पुर्णकुम्भ मेलाको प्रचारप्रसार गर्ने र प्रचारात्मक कार्यक्रम गरिने तथा माथिल्ला सरकारसँग समन्वय गरिनेछ । छलफलमा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, पूर्व सभासद हरिनाथ बास्तोला, वराहक्षेत्र नगरपालिकाकी उपप्रमुख नन्दकुमारी सुनुवार, जिल्ला प्रहरी प्रमुख, वडाध्यक्षहरू, राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
