धरानः कोशी लोकमार्गअन्तर्गत तरहरा–धरान सडकको निर्माणमा ढिलासुस्ती भइरहेको छ । कोशी राजमार्गमा ४९ किलोमिटर सडकमध्ये अब तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार हुन बाँकी छ ।
यसैबीच भारत र चीन जोड्ने ‘लिङ्क रोड’ को रुपमा विस्तारित इटहरीको तरहरादेखि धरानको सेउतीसम्म सडक विस्तार सुस्त गतिमा भएको भन्दै इटहरीका उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले गाडी नियन्त्रणमा लिएका छन् । इटहरी उपमहानगरपालिका क्षेत्रमा निर्माण हुन बाँकी रहेको ५.३ किलोमिटर सडक चाँडो पूरा गर्न पटक पटक निर्माण कम्पनीलाई उपमहानगरपालिकाले ध्यानाकर्षण गराउँदै आएको छ । स्थलगत अनुगमन गर्दा निर्माण कार्य नगरेको देखिएपछि सवारीसाधन नियन्त्रणमा लिएको प्रमुख पौडेलले बताए ।
ठेकेदार कम्पनीले काम सुधार नगरेको जनाउँदै उपमहागनरपालिकाले शुक्रबार एउटा सवारी साधन नियन्त्रणमा लिएको जनाइएको छ । विराटनगर–धरान सडक खण्डअन्तर्गतको अब निर्माणको काम तरहरादेखि धरानको सेउतीसम्म बाँकी छ । हिम धुङ् थोकर एण्ड पेसिफिक जेभी कम्पनीले ठेक्का लिएको सडक निर्माण सुस्त हुँदा इटहरी उपमहागनरपालिको ध्यानाकर्षण गराउँदा पनि चाँसो नदिएपछि मेयर पौडेलको नेतृत्व टोलीले एउटा सवारी साधन नियन्त्रणमा लिएको हो ।
अन्य क्षेत्रमा कामले प्रगति गरेपनि त्यहाँको करिब पाँच किलोमिटर सडक नबन्दा इटहरी–धरान छोटो तथा लामो दूरीका सवारीसाधन, बिरामी बोकेका एम्बुलेन्सलाई कठिनाइ भइरहेको छ । सडक निर्माण गर्ने जिम्मा पाएको कम्पनी प्रमुख र ६ लेन सडक आयोजना प्रमुख दानबहादुर शाक्यलाई ३ दिनभित्र उपमहानगरसँग छलफल गरेर सडक निर्माणको काम सक्ने गरी लिखित प्रतिबद्धता जनाउन मेयर पौडेलले आग्रह गरेका छन् ।
पछिल्लो समय सडक निर्माणका लागि २०८० सम्म समय अवधि थपिएको छ । अहिलेकै गतिमा काम हुँदा तरहराको पानीपियादेखि धरानको सेउतीसम्म थपिएको समयमा सडक निर्माण पूरा नहुने निश्चित छ । २०६९–०७० बाट सुरु भएर सात वर्षभित्रमा ६ लेन सडक जिस्तार गर्ने लक्ष्य राखिएको थियो ।
तरहरादेखि सेउती खोलासम्म ५ किलोमिटर सडकको निर्माण जिम्मा प्यासिफिक जेभी कन्स्ट्रक्सनले ४१ करोडमा ठेक्का लिएर काम थालेको थियो । असार मसान्तसम्म काम सक्ने पहिलो सम्झौता भएपनि अहिले सम्म ४५ प्रतिशत मात्रै काम भएको छ ।