धरानः धरानका राजनीतिक दलहरु र वडाध्यक्षहरु संघीय सरकारसमक्ष बजेट माग गर्दै काठमाडौं हिँडेका छन् ।
यसअघि पनि विभिन्न योजनाहरुसहित माग गर्दै दलैपिच्छे नेताहरु पुग्ने गरेका थिए । तर यसपटक एकमुष्टरुपमा दलहरु एक भएर बजेट माग्दै पुग्नुले फरक ढङ्गले हेरिएको छ ।
आव २०८०–०८१ को लागि उनीहरु बजेट माग्न राजधानी काठमाडौं गएका हुन् । उनीहरु आइतबार धरानबाट हिँडिसकेका छन् । नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, नेकपा माओवादी केन्द्रका फोक्वाहाङ सुब्बा (चोत्लुङ), नेकपा एमालेका अध्यक्ष हर्कजङ एभेङ, एमालेका नेताहरु मीन सुब्बा, नारायण सुवेदी, जनता समाजवादी पार्टीका ताजुब लिम्बू, धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज), धरान–१६ का अध्यक्ष मुरारी भट्टराई, धरान–२० का वडाध्यक्ष पदम लिम्बू, धरान–९ का वडाध्यक्ष रुपेश आचार्यलगायत छन् ।
उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ साथै अन्य मन्त्रीहरुलाई भेटेर योजनाहरु पेश्ने र बजेट माग गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस धरान नगर सभापति पोख्रेलले जानकारी दिए । टोलीले धरानसँगै सुनसरी क्षेत्र नं. १ को विकासको लागि योजना पेश्ने र बजेट माग गर्ने जनाइएको छ ।
आइतबार बिहान आयोजित पत्रकार सम्मेलन गर्दै नेताहरुले धरानको खानेपानी समस्या समाधानका लागि १० वटा डिप बोरिङलगायत अन्य पूर्वाधारका लागि २० करोड, कोशी वा सुरुङमार्ग तथा खानेपानी आयोजनाका लागि ५ अर्ब, धरान रंगशालाको पूर्वाधार विकास (फलड लाइट, प्याराफिट, बहुउद्देश्यीय कवर्डहल) का लागि ४० करोड, भक्तराज कङदङवा क्रिकेट रंगशाला धरान–१५ का लागि १० करोड रुपैयाँको बजेट माग गर्ने उनीहरुले जनाएका छन् ।


