धरानः कोशी नदीमा डुबेर तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुबाको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका झापाको दमक नगरपालिका-९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने र मोरङ उर्लाबारी नगरपालिका-७ का १८ वर्षीय राजु गुरागाईको कोशीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बराहक्षेत्र नगरपालिका-१ को बराहक्षेत्र मन्दिरमुनि कोशी नदीमा नुहाउने क्रममा डुबेर तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राईले बताए ।
शव नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले फेलापारी पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइएको प्रवक्ता राईले बताए । बराहक्षेत्र मन्दिरमा बुबाको श्राद्ध गर्न आएका न्यौपाने दाजुभाइ श्राद्ध गर्नु अगाडि नुहाउने क्रममा सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका थिए ।
बुधबारदेखि बेपत्ता भएका रुद्र र राजुको शव इटहरीस्थित बराह बाहिनी सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले गोताखोरबाट खटिएको टोलीले फेला पारेको जनाइएको छ ।