Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्रेन ट्युमर र मुटुको जटिल समस्या भएका बिरामीको सफलतापूर्वक शल्यक्रिया

हाम्रो कोशी आवाज
बैशाख ११ २०८०, सोमबार
ब्रेन ट्युमर र मुटुको जटिल समस्या भएका बिरामीको सफलतापूर्वक शल्यक्रिया

विराटनगरः कुनैपनि शल्यक्रिया गर्नुअघि मुटुसहित शरीरका महत्वपूर्ण अंगको परीक्षण गरिन्छ । मुख्य अंगहरु चुस्तदुरुस्त रहेको यकिनपछि मात्र चिकित्सकले अप्रेशनको प्रक्रिया शुरु गर्छन् । मुख्य अंगमा खराबी देखिएमा अप्रेशनका क्रममा बिरामीको ज्यान जानसक्ने खतरा भएकाले अप्रेशन नै रोकिन्छ । तर, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मुटुको जटिल दीर्घ रोग भएका बिरामीको पनि ब्रेन ट्यूमरको सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।
सुनसरीको इटहरी–७ स्थित सुकल्प टोलकी लक्ष्मीदेवी कोइरालाको पिट्यूटरीग्लाण्डमा भएको ट्यूमरको शल्यक्रिया गरिएको हो । डीसीएम नामक मुटुको जटिल दीर्घरोगका कारण ५५ वर्षीया कोइरालाको मुटुको रक्त प्रवाह क्षमता न्यून छ । जसका कारण शरीर कमजोर हुने र मुटुको चाल गढबढी भएर अप्रेशनका क्रममा ज्यान जानसक्ने जोखिम भएपनि नोबेलमा सफलतापूर्वक अप्रेशन गरिएको हो । नाकबाट दुरविन छिराएर विना चिरफार कोइरालाको ब्रेन ट्यूमर निकालिएको नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्लेले जानकारी दिए । ‘मुटुमा समस्या भएका विरामीलाई अप्रेशन गर्ने क्रममा बेहोस बनाउँदा पुनः होसमा फर्काउँन सकिन्छ कि सकिदैन भन्ने एनेस्थेटिक च्यालेन्ज हुन्छ,’ डा.काफ्ले भन्छन्, ‘हामीसँग न्यूरो, कार्डियोसहित एनएसथेसियाको राम्रो टिम भएकाले रिस्की अप्रेशन पनि सफलतापूर्वक गरेका छौं ।’
नोबेलको न्यूरो सर्जरी बिभाग प्रमुखसमेत रहेका डा.काफ्ले नेतृत्वको टिमले कोइरालाको ब्रेन ट्यूमर निकालेको हो । अप्रेशनमा न्यूरो सर्जन प्रा.डा.एडमण्ड जोनाथान, डा.प्रमोद चौधरी, मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपाल, डा.सहदेव ढुंगाना, एनएसथेसियोलोजिष्ट डा.बन्दना पौडेल, डा.सागर दाहालसहितको टिम सहभागि थियो । कोइराला दुई बर्ष अघिदेखि टाउको दुख्ने, बसेपछि उठ्न गाह्रो हुने, हात दुख्ने, सुनिने लगायत समस्याबाट पीडित थिइन् । आँखाको दृष्टि पनि घट्दै गएको थियो ।
समस्या बढेपछि उपचारका लागि उनलाई काठमाडौं र भारतको सिलगुढी पनि लगियो । तर, मुटुको समस्याका कारण अप्रेशन गर्न नसकिने भन्दै डाक्टरले फर्काइदिएको लक्ष्मीका भाई भुपाल भट्टराई सम्झन्छन् । उनी भन्छन्, ‘जहाँ लगेपनि मुटुको समस्या छ, अप्रेशन गर्न सकिदैन भन्दै फर्काए, काठमाडौं र सिलगुढीका अस्पतालले पनि फर्काएपछि केही उपाय नलाग्ने रहेछ भन्ने सोचेका थियौं, अहिले नोबेलमा अप्रेशन भएपछि दिदीलाई ठिक छ ।’
अप्रेशनपछि निको भएर उनी अस्पतालबाट घर फर्किएकी छन् । अहिले उनको आँखाको ज्योति पनि फर्किएको छ । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गरेको नोबेल अस्पतालमा दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण जटिल एवं दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिँदै आएको छ ।

प्रकाशित मिति: बैशाख ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend