धरानः मोरङ प्रहरीले १३ जना बालिकालाई पक्राउ गरेको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा साथीलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा १३ जना बालिकालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मिक्लाजुङ गाउँपालिकास्थित कालिका माविमा कक्षा–८ मा अध्ययनरत् १४ वर्षीया बालिकामाथि अन्य बालिकाहरूले सामूहिकरूपमा कुटपिट गरेको बताए ।
उनीहरूले कक्षाकोठाभित्र ती एक बालिकालाई सामूहिक रूपमा कुटपिट गरेका हुन् । हाल प्रहरीले पक्राउ परेका १३ जना बालिकाहरूलाई ज्यान मार्ने उद्योगसम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरेको जनाएको छ । अनुसन्धान र सार्वजनिक भिडियोमा प्रेमी (ब्वाइफ्रेन्ड) लाई खोसेको आरोप लगाउँदै उनीहरूले ती बालिकालाई कुटपिट गरेको देखिएको छ । वैशाख ६ गते दिउँसो करिब साढे १२ बजे भएको सो घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।