धरानः किरात राई यायोक्खाको वडा कार्य समिति नवनिर्मित किराया खीम दोस्रो तला भवनको उद्घाटनसँगै सहयोगीदाताहरुलाई सम्मान गरेको छ ।
संस्कार, संस्कृति र पहिचानको आन्दोलनलाई शक्तिरुपमा अगाडि बढाउँदै आएको किरात राई यायोक्खाले धरान–१३ स्थित चन्द्रचोकनजिक १० धुर जग्गामा किरायाको वडा कार्यसमितिको नवनिर्मित किराया खीमको दोस्रो तला भवनमा प्रमुख अतिथि एवं धरान वडा नम्बर १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेको हातबाट पानसमा दीप बालेर उद्घाटन भएको छ ।
यो भन्दा अगाडि पहिलो तला गत २०७९ जेठ २८ गते तत्कालीन प्रदेश नम्बर १ का सभामुख प्रदीपकुमार भण्डारीको हातबाट उद्घाटन भइसकेको थियो । नवनिर्मित किराया खीमको पहिलो तला २२ लाख बराबर लागतमा बनेकोमा सो समयमा धरान–१३ का वडाध्यक्ष नेत्र काफ्लेको कार्यकालमा वडा समितिले ८ लाख रुपैयाँ आर्थिक सहयोग गरेको किराया १३ समितिका सह– सचिव वसन्त वान्तावा राईले दिए ।
त्यसैगरी अहिले किराया खिमको नवनिर्मित दोस्रो तला १७ लाख बराबरको लागतमा भवन निर्माणका लागि देश तथा विदेशमा रहेका राई समुदायले स्वस्फूर्त रुपमा सहयोग जुटेको मध्य १४ लाख ८ सय ४६ रुपैया स्वफूर्तरुपमा जुटेको थप जानकारी सह–सचिव वसन्त वान्तवाले दिए ।
उदघाटन कार्यक्रममा बोल्दै किरात राई यायोख्खा सुनसरीका सचिव नविन राईले राईको भाषा, संस्कृति, पहिचानलाई जीवन्त राख्न निर्माण भएको भवनले थप सहयोग पुरयाएको बताउँदै उनले पछिल्लो समय प्रदेश नं. १ को नामाकरण कोशी पारित भइसकेको अवस्थामा पहिचानको आधारमा नामाकरण गर्नका लागि पहिचानवादी अन्य शक्तिसँग मिलेर संघर्ष गरिरहेको जानकारी दिए ।
त्यसैगरी आफ्नो शुभकामना मन्तब्य दिने क्रममा किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष दोर्पध्वज र राईले भूगोल, इतिहास र जनसंख्याको आधारलाई हेर्ने हो भने यो प्रदेशको नाम किरात हुनुपर्नेमा जोड दिएका थिए । सो उदघाटनको अवसरमा प्रमुख अथिति एवं १३ नंं वडा समितिका कार्यालयका वडाध्यक्ष काफ्लेले शुभकामना मन्तब्य राख्दै आफूले थाहा पाएसम्म किरात राई यायोक्खाको १३ नम्बर वडा कार्य समितिको कार्यालय झोलामा सीमित रहेको अवस्था समेत थियो भने । कार्य समितिले अमर सेवा समाजमा कार्यक्रमको आयोजनामा आफूलाई पहिलोपटक सम्मानजनक फेटा लगाई सम्मान गरेको थियो भने आफूले यो फेटा लगाउने पाँचौ अवसर प्राप्त गरेको बताए ।
किराया १३ नम्बर वडा समिति यो अवस्थामा आइपु्ग्नु भनेको यहाँको १३ नम्बर वडाका राईवासीहरु इच्छा शक्ति र लगनशीलता रहेको बताउँदै मैले केवल ऊर्जा मात्र थपेको बताए । अध्यक्ष काफ्लेले आर्थिक वर्ष २०८०–०८१ मा भवनको माथिल्लो भागमा ट्रष्ट निर्माणका लागि बजेट विनियोजन गर्ने आश्वासन समेत दिएका छन् ।
कार्यक्रममा भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाता, जग्गादाताहरुलाई सम्मान समेत गरेको छ । सम्मानितमा अनेरु सुवेदार देशबहादुर राई तथा श्रीमती राधा राईबाट दिवंगत बुबाआमा जमदार स्व. कृष्णबहादुर राई र आमा स्व. हिरादेबी राईको सम्झनामा रु १ लाख ६० हजार लागतमा कृष्ण– हिरादेवी स्मृति कक्ष निर्माण दातास्वरुप सम्मानजनक शिरमा फेटा लगाई प्रशंसापत्रले सम्मान गरेको छ ।
त्यसैगरी कुमार राई तथा सचिव रविला राई यायोक्खा भाषिक संस्था, चाम्लिङ राईहरुको सर्वोच्च सामाजिक संस्था किरात राई चाम्लिङ तामबातिम वडा कार्य समिति धरान–१३ ले २ लाख १५ हजार रुपैयाँ लागत सहयोगमा किरात राई चाम्लिङ खाम्बातिम कक्ष निर्माण गरेवापत सम्मान गरिएको छ । त्यसैगरी धरान–१३ किरायाका अध्यक्ष एवं सिर्पाल राईले दिवंगत आफ्नी जीवन सङ्गीनी स्व. चन्द्रकला राईको सम्झनामा ३ लाख १२ हजार ५ सय रुपैयाँ लागतमा चन्द्रकला राई स्मृति कक्ष निर्माण गरिदिएबापत परिवारलाई फेटा लगायत दोसल्ला ओढाएर सम्मान गरेको थियोे ।
कार्यक्रममा भवन निर्माणमा आर्थिक सहयोग तथा जग्गादाता समेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा गणेश राई तथा श्रीमती सञ्जीता राई, पूर्ण राई, मनु खालिङ, थाम बहादुर राई लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन किराया १३ नम्बर कार्यसमितिका सह–सचिव वसन्त वान्तावा राईले गरेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा









