Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा दुई दशकअघिका पुराना मेसिनमा उपचार गराउन बाध्य, आम्दानी भन्दा १४ करोड बढी खर्च

हाम्रो कोशी आवाज
बैशाख १९ २०८०, मंगलबार
धरानको बीपी प्रतिष्ठानमा दुई दशकअघिका पुराना मेसिनमा उपचार गराउन बाध्य, आम्दानी भन्दा १४ करोड बढी खर्च

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शल्यक्रिया कक्षमा करिब दुई दशक अघिदेखिका स्वास्थ्य उपकरण राखिएको खुलेको छ । प्रतिष्ठानको इमर्जेन्सी र गाइनोलगायत १६ शल्यक्रिया कक्षमध्ये १३ कक्षमा १५ वर्ष अघिका स्वास्थ्य उपकरण राखिएको पाइएको हो ।
महालेखा परीक्षकको प्रतिवेदन २०७९ का अनुसार प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरू पुराना उपकरणबाट उपचार गराउन बाध्य छन् । गम्भीर प्रकृतिका बिरामीहरूले शल्यक्रिया गर्नु पर्दा पुराना सामग्रीले बिरामीमा थप जोखिम मोल्ने बताइएको छ ।
त्यसैगरी आईसीयूमा ३० शय्या रहेपनि ७ वटा मात्र सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ । जनशक्ति र पर्याप्त पूर्वाधार नहुँदा प्रतिष्ठानमा भएका सामग्री सञ्चालनमा ल्याउन नसकिएको प्रतिष्ठानले खुलाएको छ ।
प्रतिष्ठानमा उपचार गर्न आउने बिरामीको संख्या घट्दै गएको छ । गत वर्ष प्रतिष्ठानमा १९ हजार १५४ ले कार्डियोलोजीको सेवा लिएका थिए । यस वर्ष भने ८ हजार ८१७ जनाले मात्र सेवा लिएका थिए । प्रतिष्ठानको पूर्वाधार निर्माण सुस्त गति रहेको पनि प्रतिवेदनमा खुलाइएको छ । पाँच वर्ष अघि खरिद सम्झौता भए पनि हालसम्म ४ सय शथ्याको मातृशिशु भवन, २ सय शय्याको कार्डिक सेवा भवन र २ सय शय्याको अन्कोलोजी भवन निर्माण हुन सकेको छैन ।
प्रतिवेदनले पूर्वाधारको निर्माण कार्य सम्पन्न गर्नलाई सुझाव दिएको छ । संगठन व्यवस्थापन र जनशक्ति व्यवस्थापन गर्न पनि प्रतिष्ठानले ध्यान दिनुपर्नेछ । दरबन्दी अनुसार प्रतिष्ठानले चिकित्सक राख्न नसकेको औंल्याएको छ । प्रतिष्ठानमा ८४६ चिकित्सकको दरबन्दी रहे पनि हालसम्म ३७४ चिकित्सक रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रतिष्ठानमा दरबन्दी अनुसार आवश्यक मात्रामा नर्स नरहेको प्रतिवेदनमा जनाइएको छ । ८ सय १६ नर्सको दरबन्दी रहे पनि २ सय १५ जना नर्स कार्यरत छन् । कर्मचारीको दरबन्दी अनुसार कर्मचारी भर्ना हुन सकेका छैनन् । दरबन्दी संख्या, भर्ना, बढुवा, वृत्ति विकास, कार्य बोझ र कार्य प्रकृति अनुसार हुन नसकेको प्रतिवेदनले प्रस्ट पारेको छ । संस्थागत संरचना र दरबन्दी मिलान गर्ने कार्य समयमा गर्नुपर्ने प्रतिवेदनले औंल्याएको छ ।
प्रतिष्ठानको आय भरपर्दो र पर्याप्त नभएको पनि प्रतिवेदनले जनाएको छ । प्रतिष्ठानले सरकार र आन्तरिक आम्दानीको स्रोतबाट भन्दा बढी खर्च गरेको छ । सरकारले अनुदान स्वरूप ५२ करोड ५१ लाख पाएको थियो । आन्तरिक स्रोतबाट २ अर्ब २४ करोड ६५ लाख रुपैयाँ पाएको थियो ।
प्रतिष्ठानले कूल २ अर्ब ९१ करोड ८८ लाख खर्च भएको छ । आय रकमभन्दा बढी १४ करोड ७२ लाख रुपैयाँ खर्च गरेको छ । प्रतिष्ठानले आय रकममा वृद्धि गरी खर्च नियन्त्रणमा ध्यान दिनुपर्ने प्रतिवेदनले सुझाव दिएको छ ।

प्रकाशित मिति: बैशाख १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend