धरानः पिकअप गाडीको ‘स्ट्रिङ’ फेल भई दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा चालक मोरङ पथरीका ३० वर्षीय मनोज दियाली र मोरङको लेटाङ–३ बस्ने ७४ वर्षीयको जीवन श्रेष्ठ रहेका छन् । बुधबार साँझ साढे ५ बजे दुर्घटना हुँदा गम्भीर घाइते बनेका उनीहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञानमा प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा लेटाङकै रुद्र लम्साल समेत गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
सो सवारीको स्ट्रिङ फेल भएर आफै अनियन्त्रित हुँदा रोडदेखि अन्दाजी २०० मिटर तल पल्टिन पुगेको थियो । मोरङको लेटाङ–७ भिरिङखास्थित भित्री कच्ची सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र.न.१–०२–००१ ज ३९५३ नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । धनकुटाको चौबीस गाउँपालिका बुधबारेबाट लेटाङ आउँदै गरेको बोलेरो पिकअप दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जना परेका थिए । सोमध्ये दुईजनाको मृत्यु भएको हो भने एकजना घाइते र १ जना सकुशल रहेको प्रहरीले जनाएको छ । घाइतेको धरानमा उपचार भइरहेको छ । बाटो कच्ची भएको कारणले दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान थालिएको छ ।