धरानः धरान-१५ स्थित किसान चोकदेखि सिद्धकाली चोकसम्म सिसी क्यामेरा जडान गरिएको छ ।
धरान-१५ मा रहेको नौलोपथ टोल विकास संस्थाले देउसी खेलेको र धरान उपमहानगरपालिकाका उपमेयर कोष साथै स्थानीयबाट संकलित रकमले १९ वटा सिसी क्यामेरा जडान गरिएको संस्थाका पूर्व अध्यक्ष विजय राईले जानकारी दिए ।
३ लाख ८७ हजार १ सय रुपैयाँको लागतमा जडित क्यामेराको धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले उद्घाटन गरे । उपमेयर कोषबाट १ लाख ६८ हजार ५ सय रुपैयाँ, टोल विकास संस्थाले गएको तिहारमा देउसी भैलो खेलेर १ लाख ८३ हजार ५ सय ३५ रुपैयाँ र स्थानीयबाट थप ८६ हजार २ सय १० रुपैयाँले सिसी क्यामेरा जडान गरिएको पूर्व अध्यक्ष राईले जानकारी दिए ।
कार्यक्रममा बोल्दै उपमेयर बेघाले धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक हठका कारण बस्न नसकेको बताए । कार्यक्रमका विशेष अतिथि धरान–१५ का वडाध्यक्ष नरेश इवारमले कार्यपालिका बैठकका लागि अभिभावकको भूमिका निभाए जुनसुकै बेला पनि बस्न सकिने बताए ।
कार्यक्रममा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, विशाल चौक टोल विकास संस्थाका अध्यक्ष पूर्व डिएसपी दलबहादुर तामाङ, धरान–१५ का वडा सदस्य रंगलाल गिरी, श्यामचौक प्रहरी पोष्टका प्रहरी सहायक हवल्दार सञ्जु शर्मालगायतको उपस्थिति रहेको थियो ।