धरानः धरानमा नेपाल रेडक्रस सोसाइटी सुनसरी स्थापना गरेर सामाजिक कार्यमा होमिएकी सरला कायस्थ र रेडक्रसका संस्थापक हेनरी ड्युनाको प्रतिमा अनावरण गरिएको छ ।
धरान-१ स्थित रेडक्रस भवनमा विश्व रेडक्रस दिवसको अवसर पारेर सो प्रतिमाको अनावरण गरिएको थियो । शिक्षा, प्रविधि मन्त्री अशोककुमार राईले सो प्रतिमाको उद्घाटन गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका शिक्षामन्त्री राईले सरलाबाट धेरै कुरा सिक्न सकिने बताए । सरलाले २०२८ सालमा सुनसरी रेडक्रस स्थापना गराएर २३ वर्ष (२०४९ साल) सम्म सेवा गरेर रेडक्रसलाई अघि बढाएको रेडक्रसमा लामो समय बिताएको पूर्व सभापति समेत रहेका टोमप्रसाद आचार्यले जानकारी दिए ।
कोशी प्रदेशका पूर्व सभामुख प्रदीपकुमार भण्डारीले कार्यक्रममा बोल्दै सरलाको प्रशंसा गरे । उनले आफूले ‘सबैकी दिदी’ भनेर लेख नै लेखेको बताउँदै भने, ‘सरला दिदी, सबैकी दिदी, धरानकी दिदी, बाहिरकी दिदी जो अप्ठयारो परिस्थितिमा पनि सामाजिक काममा समर्पित भएर लाग्नुभएको छ ।’
सामाजिक कार्यमा होमिएकी धरान–२, रत्न रोड निवासी कायस्थ सक्रिय सामाजिक जीवन नै अहिले पनि बिताइरहेकी छिन् । सरल, मिठो बोली, परोपकारी भावना उनमा जागृत छ । उनकै नेतृत्वमा धरानमा रेडक्रस सुनसरीको भवन निर्माण भएको थियो । उनकै कार्यकालमा सुनसरीमै पहिलोपटक एम्बुलेन्स सञ्चालन, ब्लड बैंक सञ्चालन हुन पुगेको छोरा मुकुल कायस्थ बताउँछन् । नारी शिल्पकला केन्द्र, सिद्धि नेवाः परिषदको स्थापना गर्न र संस्थाको सुविधासम्पन्न भौतिक संरचना निर्माणमा पनि उनको देन रहेको उनी बताउँछन् ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत, सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, रेडक्रसका सभापति उमेश थापालगायतले पनि बोलेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य रामप्रसाद मेहता, यशोदा कायस्थ, धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघा, पूर्व नगर प्रमुख तिलक राई, नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ एभेङ, नेपाली कांग्रेस धरानका सभापति श्याम पोख्रेल, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ताजुब लिम्बू, सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठलगायतको उपस्थिति थियो ।
तस्वीरहरुः हाम्रो कोशी आवाज
