धरानः जंगलमा लागेको आगोले जलेर एकजना युवकको मृत्यु भएको छ ।
जङ्गलमा लागेको आगोनजिकैको घरमा सल्किएर आगलागी हुँदा पाँचथरको फाल्गुनन्द–१ नवमीडाँडाको लाक्सेबुङमा युवकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जङ्गलमा लागेको आगो सोही स्थानका प्रेम नेम्बाङको घरमा सल्किदा आगलागी भएको थियो । आगलागीमा परी हिँडडुल गर्न नसक्ने नेम्वाङका छोरा ३२ वर्षीय मनकुमार नेम्बाङको जलेर मृत्यु भएको थियो ।
खरको छानो भएको घरमा जङ्गलमा लागेको आगोको झिल्काले भेटेपछि आगलागी भएको थियो । घरमा मृतक मनकुमार मात्रै रहेको अवस्थामा आगलागी हुँदा निजको मृत्यु हुनुका साथै दुई तले घर जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।