बिर्तामोडः झापाको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ परेका छन ।
भद्रपुर नगरपालिका–८ भद्रपुर विमानस्थलमा खटिएको सुरक्षा टोलीले चेकजाँचको क्रममा यति एयरको जहाजद्वारा काठमाण्डौ जान लागेकी कमल गाउँपालिका–७ झापा घर भई काठमाण्डौं बस्दै आएकी २६ वर्षीया एन्जल राईले भित्री वस्त्र पेन्टीभित्र सेनेटरी प्याडमा लुकाइराखेको १५ ग्राम २ सय १० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ मेचीपुलबाट बुद्धशान्ति गाउँपालिका–१ का २२ वर्षीय समिर दर्जी, मेचीनगर–१ का २१ वर्षीय दीपेशकुमार राजवंशीलाई १ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।