विराटनगरः लागूऔषध ब्राउन सुगरसहित धरानका दुईजना पुरुषसहित चार चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका १७ का ३४ वर्षीय मनिष पाण्डे, धरान–११ का ३५ वर्षीय सुर्य कुमार राई, झापा गौरीगञ्जकी ३२ वर्षीय बबिता राजवंशी र दमक नगरपालिका २ का ४१ वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् ।
पाण्डे र राईलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको बराहक्षेत्र नगरपालिका ८ बाट ११ ग्राम ३७० मिलीग्राम लागूऔषध ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
प्रदेश १ –०२–०४२ प ८४०३ नम्बरको स्कुटरमा शुक्रबारेको भित्री सडकमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेका उनीहरुलाई चेकजाँच गर्नेक्रममा उनीहरुको साथबाट उक्त परिणामको लागुऔषध बरामद भएको हो । दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरी टोलीले इलामको चुलाचुली गाउँपालिका २ बाट राजवंशी र विश्वकर्मालाई ०.४६ मिलीग्राम लागूऔषधसहित पक्राउ गरेको छ । मे१ह।३२२० नम्बरको अटोलाई चेकजाँच गर्ने क्रममा अटोमा सवार रहेका उनीहरुको साथबाट लागूऔषध बरामद भएको र दुवैजनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।