धरानः धरानलगायत तराईका जिल्लामा पनि अहिले उखरमाउलो गर्मी छ ।
गर्मी मौसमको आगमनसँगै धनकुटाको भेडेडार सिम्सुवा–३ मा रहेको नमस्ते झरनामा आउनेको संख्या बढ्न थालेको छ । अहिले त्यहाँ सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । पूर्वीतराईका युवायुवतीको विशेष आकर्षण एवम् गन्तव्य बनेको यो झरनामा अहिले आगन्तुकको संख्या बढेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए । दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको उनी बताउँछन् ।
तराईमा अत्याधिक बढेको गर्मी छल्न स्थानीयहरु पहाडको चिसोमा रमाउन जान थालेका हुन् । नमस्ते झरना गएर फोटो खिच्ने, झरनाको रमाइलो दृश्यावलोकन गर्ने, पौडीमा रमाउने, नुहाइधुवाइ गर्न पर्यटक रमाउने गरेका छन् ।

झरना अवलोकल गर्नकै लागि सयौं मानिस त्यहाँ पुगेका गरेका हुन् । विगतमा आन्तरिक पर्यटकमात्र आउने गरेको नमस्ते झरनामा पछिल्लो समय नेपालको छिमेकी मुलुक भारतबाट समेत आउने गरेको व्यवसायीहरु बताउँछन् । शनिबार र बिदाका दिन भने झनै संख्या बढ्ने गरेको व्यवसायी बताउँछन् । शैक्षिक भ्रमण, वनभोज जस्ता कार्यक्रम झरना छेऊछाऊमा हुने गरेको व्यवसायीको भनाइ छ ।
अहिले भेडेटार, झरना आसपासका होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् ।
हरियो पहाडको छातीमा लम्पसार पर्दै उत्तर लम्किएको १७ किलोमिटर लामो नागवेली सडक पार गरेर पहाडको टुप्पोमा अवस्थित चिटिक्कको भेडेटार बजार उक्लनासाथ अर्कै अनुभूति हुन्छ । भेडेटार बजारबाट ८ किलोमिटरको यात्रापछि पुगिने नमस्ते झरना गर्मी छल्न चाहनेहरूका लागि अर्को आकर्षक गन्तव्य हो ।
चिसो मौसममा अर्गानिक उत्पादनको स्वाद लिन भेडेटार, नाम्जे तथा ऐतिहासिक साँगुरी गढी पुग्नेहरूले झरनामा पुगेर नरुझेसम्म यात्रा अधुरै मान्छन् ।