Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेसको नगर सम्मेलन, चिकित्सकसहित १० जनालाई सम्मान

हाम्रो कोशी आवाज
जेष्ठ २० २०८०, शनिबार
धरानमा कांग्रेसको नगर सम्मेलन, चिकित्सकसहित १० जनालाई सम्मान

धरानः नेपाली कांग्रेसले धरानमा दुई चिकित्सक, समाजसेवी, जनप्रतिनिधि, सुरक्षाकर्मीलगायत १० जनालाई सम्मान गरेको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन पश्चात् धरान नगर समितिको सम्मेलन हुन नसकेको अवस्थामा शुक्रबार धरान– १ स्थित सुनसरी उधोग वाणिज्य संघ धरानको सभाहलमा प्रथम सम्मेलन सम्पन्न भएको हो ।
सम्मेलनमा धरानको २० वटै वडाहरुको कार्यकर्ता भेलामा आयोजक नेपाली कांग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले अहिलेको समय पार्टी सुदृढीकरणका लागि आवश्यक नेतृत्व परिवर्तन, पार्टीमा युवाको आकर्षण र भ्रष्टाचार निर्मूल अभियान र समृद्धिका लागि आर्थिक नीति अवलम्बन गर्नुपर्ने धारणा सहित अवधारणा पत्र पेश गरेका थिए ।
नगर सम्मेलनको अवसरमा धरानमा कार्यक्षेत्र बनाएर सामाजिक उत्तरदायित्व गर्दै आएका दुई चिकित्सक, जनप्रतिनिधि, सामाजिक अभियान्ता, सुरक्षाकर्मी, प्रजातन्त्रका सेनानीलगायत १० जनालाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
सम्मानितहरुमा स्त्री विशेषज्ञ चिकित्सक ध्रुवकुमार उप्रेती, चिकित्सक एलीन सुन्दास, प्राध्यापक राजविमल श्रेष्ठ, सामाजिक अभियन्ता एवं महिला नेतृ मिना पुलामी, प्रजातन्त्रका सेनानी कृष्णप्रसाद सुवेदी (बहुदल कान्छा), जनप्रतिनिधि शान्तिदेवी राई, हेमकुमारी विश्वकर्मा, सीता दाहाल, क्षेत्रीय प्रतिनिधि प्रेमकुमार राई र जिल्ला ट्राफिक कार्यालय धरानका प्रहरी निरीक्षक श्यामबहादुर बस्नेत रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि एवं नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले केन्द्रले समेत सम्मेलन गर्न नसकेको अवस्थामा विधानसम्मत धरान उपमहानगर समितिले विभिन्न चुनौतीहरु पार गरेर समितिको आगामी रणनीति, अहिले समसामयिक पार्टी सुदृढीकरणका लागि आवश्यक नेतृत्व परिवर्तन पार्टीमा युवाको आकर्षण र भ्रष्टाचार निर्मूल अभियान र समृद्धिका लागि आर्थिक नीति अवलम्बन गर्नुपर्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका महासमिति प्रतिनिधि एवं धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राईले कार्यकर्ता अडयाउन अनेकौं भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘हामीले आफू भन्दा फरक धारका व्यक्ति तथा नेताहरुलाई प्रहार गर्नु भन्दा पनि पार्टी कार्यकर्ताहरुले के चाहिरहेको छ ? समयसापेक्ष अनुसारका कुराहरु हामीले दिन सक्यौं भने हामी पनि महान हुन्छौं र कार्यकर्ताहरु पनि शान्ति भएर आफ्ना वडाहरु फर्कन्छन् ।’
सुनसरी जिल्ला सभापति एवं इनरुवा नगरपालिकाका मेयर केदार भण्डारीले पनि आफ्नो शुभकामना मन्तब्यमा १४ औं महाधिवेशनमा पछि पार्टीमा अलिकति वैमनस्य भएको बताए । सम्मेलनमा नगर समितिको सांगठनिक प्रतिवेदन नगर सचिव एवं प्रवक्ता जीतेन्द्र रुम्दाली राईले प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालन नगर सचिव हिमाल श्रेष्ठले गरेका थिए ।
तस्वीरहरूः लक्ष्मण थापा

प्रकाशित मिति: जेष्ठ २० २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend