कोशी प्रदेश सरकारमा संकट सुरु भएको छ । गत माघ १७ गते जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा संकट सुरु भएको हो । कोशी प्रदेशको स्वास्थ्यमन्त्री निर्मला लिम्बूले मन्त्रीबाट राजीनामा दिइसकेकी छन् ।
सोमबारमात्र नेकपा माओवादी केन्द्रले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको समाचार आइसकेको छ । अहिलेको प्रदेश सरकारका मन्त्री दुर्गाप्रसाद चापागाईंले माओवादी नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय भएको बताए । नेकपा माओवादी केन्द्रको कोशी प्रदेश कमिटीले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
योसँगै कोशी प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । पाँच महिनामै कार्की नेतृत्वको सरकार अल्पमतमा परेको हो । गत पुस पुस २४ मा कार्की मुख्यमन्त्री बनेका थिए ।
मंगलबारमात्र प्रतिपक्ष नेपाली कांग्रेसले पनि आफ्नै कांग्रेस संसदीय दलको मंगलबार बसेको बैठकले सरकार गठनको पहल गर्ने निर्णय गरेको प्रदेश सांसद हिमाल कार्कीले बताए । जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
अब केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरूले आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहेका छन् । अहिले कांग्रेस र माओवादीले मुख्यमन्त्रीमा दाबी गरिरहेका छन् । यद्यपि, सरकारको नेतृत्वबारे केन्द्रले गर्ने निर्णयलाई स्वीकार गर्नेमा कांग्रेस र माओवादी प्रदेश सांसद तयार छन् ।
तर रोचक त के छ भने प्रदेश सरकारमा बहुमतका लागि ४७ मत चाहिन्छ । तर केन्द्रीय गठबन्धनलाई आधार मान्ने हो भने चाकाचुलीजस्तै यता न उता हुने निस्चित छ । अर्थात् दुवैतिर ४६/४६ सांसद छन् । ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्नका लागि ४७ मत चाहिन्छ ।
कोशी प्रदेशमा नेकपा एमाले ४० सिट र राप्रपा ६ सिट गरी दुई राजनीतिक दल एकातिर छन् अर्कोतर्फ कांग्रेस २९, माओवादी केन्द्रको १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना गरी ४६ सांसदनै छन् । त्यसैले मुख्यमन्त्री बन्नका लागि सभामुखको मत निर्णायक हुने देखिन्छ ।