धरानः अहिले हपहपी गर्मी छ । विशेषतः तराईका जिल्लामा अहिले हपहपी र उखरमाउलो गर्मी छ ।
गर्मी छल्न अहिले धनकुटाको साँगुरीगढी–३ सिम्सुवामा रहेको नमस्ते झरनामा पर्यटकमा पर्यटकको लर्को लाग्न थालेको छ । गर्मी मौसमको आगमनसँगै झरनामा आउनेको संख्या बढ्न थालेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले जानकारी दिए । ‘अहिले यहाँ सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ’, उनले भने, ‘गर्मी सिजनमा बढी र अन्य सिजनमा पनि पर्यटक आउने गरेका छन् ।’ उनले आम्दानीको गतिलो स्रोत नै यो झरना बनेको समेत बताए ।
पूर्वी तराईका युवायुवतीको विशेष आकर्षण एवम् गन्तव्य बनेको यो झरनामा अहिले आगन्तुकको संख्या बढेको उनी बताउँछन् । दैनिक पाँच सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको उनी बताउँछन् ।
तराईमा अत्याधिक बढेको गर्मी छल्न स्थानीयहरु पहाडको चिसोमा रमाउन जान थालेका हुन् । नमस्ते झरना गएर फोटो खिच्ने, झरनाको रमाइलो दृश्यावलोकन गर्ने, पौडीमा रमाउने, नुहाइधुवाइ गर्न पर्यटक रमाउने गरेको व्यवस्थापन समितिका सचिव जीवन सुब्बा बताउँछन् ।
बढीजसो भारतीय पर्यटकले त्यहाँ भरिभराउ हुन गरेको छ । अहिले भेडेटार, झरना आसपासका होटलमा कारोवार फस्टाएपछि ब्यवसायी समेत निक्कै उत्साहित देखिएका छन् ।
बाँदर धपाउँदै गाउँपालिका
यसअघि झरनामा घुम्न आउने एकजना पर्यटकको ढुंगाले लागेर मृत्यु भएको थियो । त्यसैले अप्रिय घटना नघटोस् भनेर साँगुरीगढी गाउँपालिकाले स्वास्थ्य बीमा शुरुवात गरेको अध्यक्ष रुम्दालीले जानकारी दिए ।
अहिले झरनामा बाँदरले आतंक मच्चाउँदै आएको उनले जानकारी दिए । बाँदरले ढुंगा लडाउने सम्भावनालाई मध्यनजर गर्दै बाँदर खेदाउने अभियान नै थालिएको उनी बताउँछन् । त्यस्तै, पालिकाले नगर प्रहरी पठाएर त्यहाँको सुरक्षा गर्दै आएको समेत उनले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज
































