Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटी

हाम्रो कोशी आवाज
जेष्ठ ३१ २०८०, बुधबार
शिक्षण सिकाइ क्रियाकलापमा प्रभावकारी बन्यो आइसिटी

धरान: शिक्षण सिकाइ क्रियाकलापमा आइसिटी सूचना र सञ्चार प्रविधिको प्रयोग प्रभावकारी देखिएको छ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित मोहनमाया माध्यमिक विद्यालयमा आइसिटीको प्रयोग गर्दै पठनपाठन गराउन सुरु गरेसँगै विद्यार्थीको चाप उच्च रहेको पाइएको हो,व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना इभेन्ट मार्फत नेपाल सरकारले मोहनमाया माध्यमिक विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका अनुमति प्रदान गरेसँगै अहिले सो विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुने गरेको छ ।
नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ देखि यो विद्यालयलाई आइसिटी कक्षा सञ्चालनका लागि आर्थिक सहयोग पुर्‍याएसँगै परम्परागत पठनपाठनको शैलीलाई परिमार्जन गर्दै स्मार्ट प्रविधिबाट पठनपाठन हुँदै आएको छ । जसका कारण विद्यार्थीलाई सिकाउन र उनीहरूलाई बुझ्न समेत सहज भएको विद्यालयका शिक्षक कविता सापकोटाले बताइन् ।
विद्युतीय उपकरण प्रयोग गर्दै प्रोजेक्टरको माध्यमबाट पठनपाठन गराउँदा शिक्षण सिकाइ क्रियाकलापमा विद्यार्थी बढी सक्रिय देखिने हुँदा शैक्षिक गुणस्तर अभिवृद्धिमा सहज भएको बताइएको छ । ‘शिक्षकको अनुपस्थितिमा समेत विद्यार्थी आफैले आइसिटीको प्रयोग गर्दै नयाँ–नयाँ कुरा सिक्न सक्ने भएको हुँदा यो शिक्षण विधि प्रभावकारी देखिएको हो’, सापकोटाले भनिन् ।
इभेन्ट परियोजनाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ल्याप्टप, प्रोजेक्टर, सिसी क्यामेरा, कम्प्युटर, डिभीआर, एलभीआर जस्ता विद्युतीय उपकरण खरिदमा सहयोग पुर्‍याएको विद्यालयका सूचना अधिकारी समेत रहका शिक्षक डम्मरुवल्लभ ओझाले बताए .
यो विद्यालयमा इभेन्ट परियोजना सेकेन्ड सञ्चालनमा आएसँगै शिक्षण सिकाइ क्रियाकलापमा सहज र विद्यार्थीको आचारण र आनीबानीमा समेत परिवर्तन आएको ओझाको भनाइ छ । मोहनमाया मावि जिल्लाकै नमूना विद्यालयमध्येमा पर्छ । यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको संख्या एक हजार सात सय छ ।इभेन्ट परियोजनाले आइसिटी कक्षा सञ्चालनका लागि यो विद्यालयलाई रु ३० लाख ६२ हजार पाँच सय आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बताए ।
विद्यालयमा प्रविधिको प्रयोग गर्दै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनमा उत्साहित देखिएका हुन् । प्रविधिको अधिकतम् प्रयोग गर्दै पठनपाठन सुरु गरेसँगै यो विद्यालयमा अध्ययन गर्न निजी विद्यालय त्यागेर आउने विद्यार्थी धेरै छन् ।सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर खस्किएको आरोप झेलिरहेका कतिपय सामुदायिक विद्यालयका लागि यो विद्यालय प्रेरणादायी विद्यालयका रूपमा परिचित छ । यो विद्यालयको शैक्षिक गुणस्तरका विषयमा जानकारी लिन देशका विभिन्न विद्यालयबाट अवलोकनका लागि समेत आउने गरेका छन् ।
आइसिटीको प्रयोगले विद्यालयमा विद्यार्थीले रमाएर सिक्न पाएको र उनीहरूलाई प्रविधिको उच्चतम् प्रयोग गर्दै सिकाउन इभेन्ट परियोजनाले ठूलो सहयोग पुर्‍याएको विद्यालयका अर्का शिक्षक मुकुन्द ढकालले बताए । आइसिटीको प्रयोग विशेष कक्षा (सुस्त श्रवण भएका विद्यार्थी ) सञ्चालनका लागि अझ बढी प्रभावकारी देखिएको छ । यो विद्यालयमा आवाससहित सुस्त श्रवण भएका विद्यार्थीलाई समेत पठनपाठन गराइने गरिएको छ

प्रकाशित मिति: जेष्ठ ३१ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend