Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एकैठाउँबाट एकदिनमै ७ लाखको दूध बिक्री

हाम्रो कोशी आवाज
असार ३ २०८०, आइतबार
एकैठाउँबाट एकदिनमै ७ लाखको दूध बिक्री

झापा: झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ ।
यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात लाखभन्दा बढीको दूध बिक्री भइरहेको निरौला कृषि तथा पशु फार्मका सञ्चालक केदार निरौलाको भनाइ छ । उनले यहाँका गाईफार्ममा न्यूनतम ३० देखि अधिकतम दुईसय वटासम्म उन्नतजातका गाईपालन भइरहेको बताए । बाहुनडाँगीका अधिकांश किसानले भारतको बैग्लोर तथा केरलाबाट उन्नत जातका गाई ल्याउने गरेका छन् ।
यहाँका किसानले होलस्टेन, साइबल र जर्सी जातका गाईपालन गर्दै आएको उनको भनाइ छ । जसमध्ये साइबल जातको गाईले तुलनात्मक रुपमा धेरै दूध दिने किसानको अनुभव छ । “साइबलले एक पटकमा करिब २० लिटरसम्म दूध दिन्छ, गाई हेर्दा पनि राम्रो र दूध पनि बढी दिने भएकाले किसानका लागि आकर्षणको गाई बनेको छ”, उनले भने । उनले १० महिनाअघि मात्र बैग्लोरबाट रु दुई लाख ३५ हजारका दरले १४ वटा साइबल जातका गाई खरिद गरेर ल्याइएको बताए । जसमध्ये तीन वटा उनकै फार्ममै छन् ।
उनले मात्रै दैनिक छ सय लिटर दूध बिक्री गर्नुहुन्छ । प्रतिलिटर रु ७७ का दरले दैनिक रु ४५ हजारभन्दा बढीको कारोबार गर्छन। विगत ३५ वर्षदेखि बाहुनडाँगीमै सुपारी खेती गर्दै आएका निरौलाले छ वर्षयता गाईफार्म सुरु गरेका हुन् । लामो समयदेखि हात्तीको आक्रमणबाट पीडित बनेका बाहुनडाँगीवासी गाईपालनबाट सन्तुष्ट छन् । “बाली लगायो जङ्गली हात्तीको आक्रमणका कारण थन्क्याउनै पाइँदैन थियो”, उनले भने “गाईपालनले आम्दानी पनि दिएको छ भने काम गर्न सहज पनि भएको छ ।”
उनले गाईको आहाराका लागि बारीमै जौ, नेपियरलगायत जातका घाँस खेती गर्दै आएको बताए। प्रदेश सरकारले जिल्ला पशु सेवा कार्यालयमार्फत दूधमा अनुदान समेत दिँदै आएको छ । उनका अनुसार प्रतिलिटर रु दुईको दरले दिइने अनुदानले किसानलाई प्रोत्साहन मिलेको बताए ।

प्रकाशित मिति: असार ३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend