बिर्तामोडः झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरू भएको छ ।
जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा लगाउन थालिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत ऋषिराम पराजुलीले जानकारी दिए ।
राष्ट्रिय वन विकास कार्यक्रमअन्तर्गत झापाको कचनकवल–३ स्थित दुर्गाभिट्टा सामुदायिक वन र बाह्रदशी–१ साधुपर्ती सामुदायिक वन हाताभित्र २ वटा पोखरी निर्माण गरिएको छ । १० लाख रुपैयाँको लागतमा ती पोखरी निर्माण गरिएको हो ।
हात्ती र अन्य वन्यजन्तुलाई पानी खान र आहाल बस्न सहज होस् भन्ने उद्देश्यले पोखरी निर्माण गरिएको उनले बताए ।
जिल्लाकै ८ वटा समुदायिक वनमा ४ हजार बाँस र २ हजार ८०० केराको बिरुवा लगाउन थालिएको छ । ‘बिरुवा रोप्न खाल्डो खनेर तयारी अवस्थामा राखिएको छ,’ डिभिजन वन कार्यालय झापाकी अधिकृत रञ्जना पुरीले भनिन्, ‘बिरुवा रोप्न खाल्डो खन्ने काम सकिएको छ, वर्षा शुरू भयो अब बिरुवा लगाइने छ ।’
जिल्लाको मनकामना सामुदायिक वनमा बाँसका बिरुवा १ हजार र केरा ८००, साधुपर्ती सामुदायिक वनमा बाँस १ हजार र केरा ४६०, पूर्व देउराली सामुदायिक वनमा ४०० केरा, पाथीभरा कालिका सामुदायिक वनमा बाँस ८०० र केरा २००, दियालो सामुदायिक वनमा बाँस २०० र केरा ४००, विशाल सामुदायिक वनमा बाँस ४००, दुर्गाभिट्टा सामुदायिक वनमा केरा ४०० र मायालु सामुदायिक वनमा बाँस ६०० र केरा २०० वटा बिरुवा लगाइने छ ।
वन क्षेत्रमा बाँस र केरा लगाउन १५ लाख बजेट प्राप्त भएको कार्यालयले जनाएको छ । आहाराको खोजीमा हात्ती लगायतका वन्यजन्तु वन आसपासका गाउँ बस्तीमा पस्ने भएकाले वन क्षेत्रमै आहाराको व्यवस्थापन गर्न लागिएको हो । यसबाट मुख्यतः मानव–हात्ती द्वन्द्व न्यूनीकरण गर्न मद्दत विश्वास लिइएको छ ।
झापाका सामुदायिक वनमा १ दर्जनभन्दा बढी रैथाने हात्ती रहेका छन् ।