Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबासी डेंगुको प्रकोपले प्रभावित, दिनमा ५-७ जनासम्म पोजेटिभ केस देखिन थाल्यो, कस्ता हुन्छन् लक्षण ?

हाम्रो कोशी आवाज
असार १० २०८०, आइतबार
धरानबासी डेंगुको प्रकोपले प्रभावित, दिनमा ५-७ जनासम्म पोजेटिभ केस देखिन थाल्यो, कस्ता हुन्छन् लक्षण ?

धरानः डेंगुले धरानबासी प्रभावित भएका छन् । हरेक घरमा डेंगुका बिरामी छन् । कुनै घरमा त चारजनासम्म संक्रमित पाइएका छन् । गर्मी मौसम शुरु भएसँगै डेंगु देखापर्न थालेको हो ।
धरानमा फैलिएको डेंगु नियन्त्रणका लागि बेलैमा प्रभावकारीरूपमा अभियान सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
धरानमा अस्वाभाविकरूपमा धेरै जनामा डेंगुको संक्रमण भइरहेको छ । अघिल्ला वर्षहरूमा मनसुन सकिएपछि छिटपुट देखिने डेंगुको संक्रमणले यस वर्ष मनसुनअगावै धरानमा प्रभावित पार्न थालेको छ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अन्य अस्पतालमा परीक्षण गरिएका बिरामीमध्ये दिनमा करिब १५ जना बिरामी पोजेटिभ देखिन थालेका छन् ।
धरान–१० स्थित विजयपुर हस्पिटलका प्रशासन प्रमुख इन्दु योञ्जनले अहिले पनि अस्पतालमा २० जना बिरामी रहेको बताए । उनले प्रत्येक दिनजसो बिरामी थपिँदै गएको समेत बताए । उनले दिनमा परीक्षण गर्दा ५–७ पोजेटिभ बिरामी देखिन थालेको बताए । टाउको दुख्ने र ज्वरो आउने भएपछि परीक्षण गर्दा डेंगु भएको रिपोर्ट आएको उनले बताए । टाउको दुख्ने, आँखा दुख्ने र उच्च ज्वरो आएको कारण शंका लागेर चेक गराउँदा डेंगु पुष्टि भएको उनले बताए ।

हालसम्म कसैको ज्यान नगएपनि सरकारीस्तरबाट भएका रोग नियन्त्रणको प्रयास थालिएको नै छैन । धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । ‘धेरैमा यसको संक्रमण छ भन्ने जानकारी आइसकेको छ’, उनले भने, ‘तर आत्तिहाल्नुपर्ने अवस्था छैन तर पनि उपमहानगरपालिका अभियान सञ्चालन गर्ने तयारीमा छ ।’
उनका अनुसार लार्भा नष्ट गर्ने ‘लामखुट्टे खोज्ने र मार्ने’ (सर्च एण्ड डिस्ट्रोय) अभियानकै रुपमा लैजान वडा कार्यालयलाई पत्राचार गर्दै टिएलओमार्फत् काम गर्ने तयारीमा उपमहानगरपालिका छ । यस्तै, फगिङ गर्ने तयारीमा पनि उपमहानगरपालिका रहेको उनले जानकारी दिए । स्वास्थ्य प्रमुख मेहताले नगरबासी आफैं पनि जागरुक हुनुपर्ने बताए । उनले भने, ‘नगरबासीले घर सफा गर्ने, पानी जम्न नदिने, लार्भा नष्ट गर्ने उपाय नअपनाएसम्म डेंगुको जोखिम धरानमा रहिरहन्छ, त्यसैले सबै सचेत बनौं ।’
चिकित्सकका अनुसार लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्छ । डेंगु ज्वरो एडिस एजिप्टाई नामक लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ ।
गर्मी मौसम बढ्दै गइरहेको अवस्थामा एडिस एजिप्टाई नामक लामखुट्टेको सक्रियता पनि बढ्ने गर्छ । कालो, सेतो रंगको लामखुट्टे सफा जमेको पानीमा बस्ने र फुल पार्ने गर्छ । डेगुं संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा डेंगुको संक्रमण हुन्छ । डेंगु संक्रमण नभएका लामखुट्टेले टोकेमा भने डेंगु सर्दैन । लामखुट्टेले टोकेको ५ देखि ७ दिनभित्र संक्रमण हुने गरेको चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार संक्रमितलाई कडा ज्वरो आउने, आँखाको गेडी रातो हुने, शरीरमा बिमिरा आउने, आन्तरिक रक्तश्राव हुने, जोर्नी, मांसपेशी र हड्डी दुख्ने, नाक तथा गिजाबाट रगत बग्नेजस्ता लक्षण देखापर्छन् । डेंगुको शंका लाग्ने वित्तिकै स्वास्थ्य संस्थामा गएर जाँच गराउने र कम्तीमा ७ दिनसम्म झुलभित्रै आराम गर्न चिकित्सकले सुझाएका छन् ।

प्रकाशित मिति: असार १० २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend