धरानः देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको कोशी प्रेदेश सभा सदस्य यशोदा कायस्थले बताएकी छिन् ।
सिद्धि नेवाः परिषद्को अयोजनामा असार १० सोमबार देखि सञ्चालित ७ दिने बरमाल, नरिवल सुपारी सजाउने तालिमको अनुगमनको क्रममा प्रदेशसभा सदस्य कायस्थले सो कुरा बताएकी हुन् ।
धरान–७ स्थित सिद्धि नेवाः परिषद्मा सञ्चालित तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरु सहभागी भएका छन् । धरानका महिलाहरुलाई सशक्तिकरण गर्न र उनीहरुमा सीप विकास गरी स्वरोजगर तथा व्यवसायी बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राजविमल श्रेष्ठले जानकारी दिए ।
प्रदेश सरकारबाट युवा महिलाहरुको सशक्तिकरण र सीप विकास कार्यक्रमअन्तर्गत धरान उपमहानगरपालिकालाई हस्तान्तरित बजेटबाट कार्यक्रम सञ्चालन भएको हो । धरान उपमहानगरपालिकासँग सम्झौता भई रु ५० हजारको बजेट सहयोगमा कार्यक्रम सञ्चालन भएको सिद्धि नेवाः परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी दिए ।
विवाह कार्यक्रममा नभई नहुने वरमाला, नरिवल सुपारी सजाउने सीप सिक्न सके यसबाट राम्रो आम्दानी गर्न सकिने, घरको काम भ्याएर पनि उत्पादन गर्न सकिन्छ । माला मात्र बिक्री गरेर मासिक २५ हजार रुपैयाँ सजिलै कमाउन सकिने प्रशिक्षक जुली ताम्राकारले बताइन् ।
कार्यक्रममा सहभागीहरुलाई प्रयोगात्मकरुपमा विभिन्न किसिमको वरमाल नै तयार गर्न लगाइएको थियो । सबैले तालिम अवधिमा नै बरमाला, नरिवल सुपारी सजाउने काम गरेकाले तालिम उपलब्धिमूलक भएको आर्थिक समिति संयोजक विनिता बज्राचार्यले प्रतिक्रिया दिइन् । कार्यक्रम धरान उपमहानगरपालिकाबाट अनुगमन र विभिन्न संघ संस्थाका पदाधिकारीहरुबाट अवलोकन भएको छ ।

