धरानः दुई वर्ष अघि मालपोत कार्यालय भवन सम्पन्न भई सकेता पनि गत बुधबारदेखि कार्यलय स्थान्तरणसँगै सेवा दिन थालेको छ ।
२०७२ सालमा सुनसरीको सदरमुकाम इनरुवामा रहेको मालपोत र नापी कार्यलयबाट शाखाका रुपमा धरानमा ल्याइएको सो कार्यलय धरान उपमहानगरपालिकाको भवनमा सीमित सेवा सञ्चालनमा रहेको अवस्थामा ६ महिनापछि सो कार्यालय धरान उपमहानगरपालिका वडा नं. १६ मा रहेको कृषि विकास बैंकको भवनमा भाडामा सञ्चालन हुँदै आएको थियो । मालपोत कार्यालय धरान– ६ पानबारीमा बुधबारदेखि आफ्नै भवनबाट सेवाग्राहीहरुलाई सेवा दिन थाल्यो ।
दुई वर्ष अगाडि नै भवन निर्माण भइसक्दा पनि केही राजनीतिक दलका नेताहरुले जग्गा प्राप्ति तथा भवन निर्माणमा तात्कालिक मालपोत कार्यालय प्रमुखले भ्रष्टाचार गरेको आरोप लगाउँदै नसार्न दबाब दिइरहेको अवस्थामा हिजो बुधबारबाट मालपोत कार्यालयले आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको छ ।
यसरी आफ्नै भवनबाट सेवा प्रदान गर्न पाउँदा हामीले आफ्नो घरको अनुभूति गर्नुको साथै करोडौं घर भाडा जोगाउन सकिने जानकारी मालपोतका वर्तमान कार्यलय प्रमुख चन्द्रप्रसाद मिश्रले बताए । केही राजनीतिक दलका नेता, बुद्धिजीवी, स्थानीय समाजसेवीको प्रयासपछि मालपोत कार्यालय धरान–६ पानबारीमा ल्याउन सकिएको उनले बताए ।
प्रमुख मिश्रले मालपोत कार्यालयका निमित्त स्थानीयहरुले दिएको २–२ कट्ठामा मालपोत र नापी कार्यालयको भवन निर्माण भएको जानकारी दिँदै मालपोतको भवन निर्माण भएपनि नापीको भवन बन्न अझै समय लाग्ने बताए ।
प्रमुख मिश्रले तत्काल पार्किङको भने केही समस्या भएको बताउँदै यहाँको वडाध्यक्ष लगायत स्थानीयहरुसँग सल्लाह गरेर पार्किङको सुविधालाई पनि चाँडै समाधान गरिने समेत बताए । मालपोत कार्यालयमा उपस्थित सेवाग्राही मध्ये वडा नम्बर ३ निवासी अमन उदासले मालपोत कार्यालय यहाँ सर्दा आफूहरुलाई कुनै समस्या नभएको र यहाँ फराकिलो ठाउँ भएको बताए ।
सुनसरीको इनरुवामा केन्द्रित मालपोत र नापीको सेवा प्रवाहलाई विकेन्द्रीत गर्ने उद्देश्यले तत्कालीन मालपोत अधिकृत श्रवणकुमार पोख्रेलेका पहलमा धरानमा ०७१ सालमा ल्याइएको थियो । ०७१ साउन ४ गतेको मन्त्रिपरिषद्को निर्णय र मन्त्रालय अन्तर्गत प्रशासनिक समितिको सोही सालको असोज ६ गते मालपोत कार्यालय सदरमुकाम इनरुवासहित धरानमा समेत राख्ने निर्णय भएको थियो । त्यसबेला धरान उपमहानगरपालिका, विष्णुपादुका गाविस, हाँसपोसा गाविस र बराहक्षेत्र गाविसलाई समेट्ने गरी कार्य सम्पादन गर्ने भनिए पनि तत्कालीन हासपोसा गाविस र अहिले इटहरी उपमहानगरपालका २०का सर्वसाधारणले भने इनरुवाबाटै सेवा लिइरहेका छन् । मालपोत कार्यालयका तत्कालीन प्रमुख तथा नापी कार्यालयका तत्कालीन प्रमुख सो क्षेत्रमा एक–एक कट्ठा जमिन लाभ लिएको भन्दै लिम्बुवान मञ्चले विरोध जनाएको तथा कोरोना संक्रमणका कारण पनि मालपोत आफ्नै भवनमा सर्न सकेको थिएन । यो भवन आर्शिवाद आशिषमान जेवीले सम्झौता बमोजिम २०७६ वैसाख २९ गतेबाट शुरु भएको र ०७८ वैशाख मसान्तसम्म सक्ने भनिएता पनि कोरोनासँगै लकडाउनका कारण असार मसन्तमा सम्पनन भएको हो र मालपोतको भवन ४ करोडको लागतमा ठेक्का दिएको भएपनि यो भवन २ करोड ८० लाखमा निर्माण सम्पन्न भएको जानकारी ठेकेदार रामबहादुर सरदारले बताए ।
तस्वीरः लक्ष्मण थापा


