धरान: झापाको शिवसताक्षी नगरपालिका ९ झरना टोलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीया झरना विक र कमल गाउँपालिका ३ बस्ने २४ वर्षीया सन्ध्या राई रहेका छन् । विकले आफ्नै घरमा लागुऔषध बिक्रीवितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
झापाकै मेचीनगर नगरपालिका ८ निन्दाखोला पुल नजिक छेउको झाडीबाट वेवारिसे अवस्थामा प्लाष्टिकको झोलामा रहेको नियन्त्रित लागुऔषध मेथामफेटामाइन जस्तो देखिने पदार्थ ८ सय ७० ग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उक्त लागुऔषध फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।