Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डेंगुको प्रकोप चुनौतीपूर्ण बन्दै, धरान–१२ का वडाध्यक्ष र जनप्रतिनिधि लार्भा नष्ट गर्ने तरिका सिकाउन घरघरमा छिरे

हाम्रो कोशी आवाज
असार २० २०८०, बुधबार
धरानमा डेंगुको प्रकोप चुनौतीपूर्ण बन्दै, धरान–१२ का वडाध्यक्ष र जनप्रतिनिधि लार्भा नष्ट गर्ने तरिका सिकाउन घरघरमा छिरे

-लक्ष्मण थापा

धरानः धरानमा फेरि डेंगुको प्रकोप बढ्दो छ । धरान उपमहानगरपालिकाले वडा–वडामा सचेतना कार्यक्रमसँगै लार्भा ‘सर्च अनि डिस्ट्रोय’ अभियान शुरु गरेको छ ।
यसैबीच धरान–१२ का जनप्रतिनिधि लार्भा सर्च एण्ड डिष्ट्रोय अभियानमा घरघरमा पुगेका छन् । उनीहरुले लार्भा नष्ट गर्ने तरिका सिकाउँदै घरघरमा छिरेका हुन् । स्वास्थ्य महाशाखाबाट आएका टोलीका विज्ञ प्रितिबहादुर राईसहित उनीहरु घरघर पुगेका हुन् ।
धरानको वडा नं १२ का अध्यक्ष टंकबहादुर राई, महिला वडा सदस्य चुन्नु थापा, वडाका कर्मचारी र धरान नगरपालिकाका नगर प्रहरी सहितको टोलीले चतरालाइनस्थित वडा कार्यालयको पश्चिम सरस्वती चोक (पानी टंकी) देखि पूर्वका अधिकांश घरमा छिर्दा लार्भा भेटिएको वडाध्यक्ष राईले बताए । पछिल्लो समय वडा नं १२ मा अत्याधिकरूपमा डेंगु संक्रमित बिरामीहरू देखिन थालेको उनले बताए । ‘अहिले जति पनि नयाँ बिरामीहरू छन्, त्यसमा मेरो वडाको अत्याधिक छ । हरेकजसो घरमा डेंगुका बिरामी छन्,’ उनले भने, ‘हामी जनप्रतिनिधिहरू ज्यादै चिन्तित छौं ।’
चुनौतीपूर्ण बन्दै
धरानमा केही हप्ताअघिदेखि डेंगुको संक्रमण बढिरहेको छ । अहिले सबै वडामा फैलिसकेको छ । नियन्त्रणमा आउनुको साटो मनसुन शुरू भएर डेंंगु प्रकोप थप चुनौतीपूर्ण बन्दै गएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो दुई साताको तथ्यांक र प्रत्येक वडाबाट आउने रिपोर्टले पनि घरैपिच्छे डेंगु संक्रमित बिरामी भएको आशंका छ । ‘प्रत्येक वडाबाट अध्यक्ष ज्यूहरूले निरन्तर खबर गरिरहनुभएको छ, अहिले त झन् घरघरमा डेंगु बिरामी छन् भन्ने कुरा छ,’ स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले भने, ‘मनसुनले गर्दा पनि अब त झन् नियन्त्रणमा चुनौती थपिएको छ, त्यसैले सर्वसाधारण जनता आफै सचेत नभई हुन्नँ ।’
धरानेलाई डेंगुबारे सबै ज्ञान भएपनि लापरवाहीका कारण यसको संक्रमण झन बढिरहेको उनी बताउँछन्् । ‘यो कस्तो रोग हो, के गर्नुपर्छ, कसरी बच्न सकिन्छ भन्ने पछि प्रष्टट थाहा छ, तर व्यवहारमा भने कसैले पनि लागू गरेको छैन ।’ उनले भने, ‘डेंगुको बारेमा सम्पूर्ण ज्ञान भएर पनि नियन्त्रणमा ल्याउन त्यसलाई व्यवहारमा उतार्न नसकेकै कारण धरानमा महामारी नियन्त्रणमा आउन चुनौती भएको हो ।’
स्वास्थ्य महाशाखाका विज्ञ प्रितिबहादुर राईका अनुसार प्रत्येकले आफ्नो घर आँगन वरिपरि पानी जम्न नदिनु नै डेंगु संक्रमणको पहिलो रोकथाम हो । ‘सबैले आ–आफ्नो ठाउँबाट जमेको पानी फाल्ने र लार्भा नष्ट गर्ने हो भने डेंगु नियन्त्रणमा आउँछ ।’
विज्ञ तथा चिकित्सकहरूकाअनुसार घर, कार्यालयमा हुने फ्रिज, एसी, कुलर, गमला राख्ने प्लेट, कवाड, टायर, बोतल तथा प्लाष्टिकजन्य वस्तुहरु, फ्रिजको पानी जस्ता सफा पानी जम्ने र लामखुट्टे हुर्किनेछ । अव्यवस्थित सहरीकरणले गर्दा सहरी क्षेत्रमा केही वर्ष यता डेंगुको प्रकोप देखिएको बताउँदै उनले डेंगु लागेका ९० प्रतिशतलाई लक्षण नदेखिने गरेको बताए । जुनसुकैको घरमा जमेको पानी भेट्नेवित्तिकै डेंगुले अण्डा पार्ने र लार्भाको उत्पादन गरिहाल्ने उनले जानकारी दिए । उनले त्यस्तो अवस्था आउन नदिन पानीको भाडामा बिर्को लगाएर राख्ने अनि घर वरिपरि मट्टितेल छर्न सकिने बताए ।
अहिले धरानस्थित बीपी प्रतिष्ठान साथै अन्य निजी क्लिनिक, अस्पतालमा पनि डेंगुका बिरामीको चाप छ । गत वर्षमा धरान उपमहानगरपालिका र विभिन्न सामाजिक संघ–संस्थाहरु बेलैमा सचेतनाको लागि लाग्ने गरेको यो वर्ष निस्क्रिय रहेको भन्दै जनगुनासो आउन थालेको छ ।
तस्वीरः लक्ष्मण थापा

प्रकाशित मिति: असार २० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend