धरानः धरानको खानेपानीको लागि गोर्खा वेलफेयर ट्रष्ट मरिहत्ते गरेर लागेको छ ।
धरान-१३ स्थित निशाने ट्याङ्की बनाउनका लागि करिब ६० लाख रुपैयाँ खर्चेका ट्रष्टले खर्दु खोलामा डयामसहितको विभिन्न संरचना निर्माणका लागि ३ करोड १२ लाख ४७ हजार २४६ रुपैयाँ खर्च गरेको छ ।
आयोजनाको लागत अनुमान ३ करोड ३७ लाख ७९ हजार २११ रुपैयाँ भएपनि वास्तविक खर्च ३ करोड १२ लाख ४७ हजार २४६ रुपैयाँ मात्र भएको कार्यक्रम निर्देशक दीपक कुमार श्रेष्ठले जानकारी दिए । त्यहाँ इन्टेक ४ वटा, कलेक्सन च्याम्बर ४ वटा, फ्लकुलेटर टङ्याक स्तरोन्नति १, रयापिड स्याण्ड फिल्टर स्तरोन्नति १, क्रसिङ २ वटा, वासआउट भल्व १ वटा पाइपलाइन २ हजार ३ सय ४९.९० मिटर र एयर भल्भ २ वटा निर्माण भइसकेको छ ।
निर्माण सम्पन्न भएपछि बुधबार एक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाकालाई हस्तान्तरण गरिएको छ । गोर्खा सैनिकहरुको रिजनल एशोसिएन अफ नेपाल (रान) का पूर्वी नेपाल अध्यक्ष पूर्वगोर्खा मेजर झप्तमान लिम्बूले मेयर हर्कराज राई साम्पाङलार्ई आयोजना सम्पन्न भएको डकुमेन्ट प्रदान गरेका छन् । खर्दु खोलामा १४१ दिन लगाएर निर्माण गरिएको ड्यामसहितको संरचना हस्तान्तरण गरिएको हो ।
पूर्व ब्रिटिश आर्मीहरुको रेजिमेन्टल एशोसिएशन (नेपाल) पूर्वक्षेत्रको अनुरोधमा गोर्खा वेलफेयर ट्रष्टले २ लाख १२ हजार पाउण्ड अर्थात नेपाली रुपैयाँ ३ करोड २९ लाख बराबर खानेपानी योजनाको लागि अनुदान स्वीकृत गरेको थियो । त्योसँगै निशाने, धरान–१५ मा ट्याङ्की निर्माण भइसकेको छ ।
धरानको खानेपानी समस्याका लागि चुनाव जितेलगत्तै मेयर साम्पाङ खोलाखाल्सी धाइरहेको समाचार आइरहेको साथै गैंती र बेल्चा बोकेर पकुवाबाट पानी ल्याउन थालिसकेको देखेपछि आफूहरुले सहयोग गर्न लागिपरेको मेजर झप्तमानले बताए । ‘खानेपानी अभाव धरानको प्रमुख समस्या थियो नै’, उनले भने, ‘मेयर साम्पाङले गरेको काममा विश्वास गरेर नै हामीले सहयोगको हात अघि बढाएका हौं ।’
कार्यक्रममा वेल्फेयरका सिईओ अल हवार्ड, वेल्फेयरको नेपालस्थित डाइरेक्टर कर्णेल पल स्मिथको पनि उपस्थिति थियो । कार्यक्रममा बोल्दै ट्रष्टका सिईओ हवार्डले विशेषतः हिमाली क्षेत्रमा मात्रै ट्रष्टले लगानी गर्दै आएको तर धरानमा भूपू गोर्खा सैनिक र परिवार बसोबार गर्ने भएकोले लगानी गरेको समेत प्रष्ट पारे ।
सो संरचना निर्माणपछि धरानमा खानेपानी प्रणालीमा पानीको थप आपूर्ति हुने र अधिकतम ४० लाख लिटर प्रतिदिन पानी आउने सिनियर वेलफेयर अफिसर पूर्ण लिम्बूले जानकारी दिए ।
तस्वीरहरुः शेखरनाथ जोगी, हाम्रो कोशी आवाज


























