Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बजारमा आँपको मूल्य आकासियो

हाम्रो कोशी आवाज
असार २८ २०८०, बिहिबार
बजारमा आँपको मूल्य आकासियो

धरानः स्वदेशी उत्पादन आँप सकिँदै गएपछि मूल्य महंगिदै गएको छ । जेठ अन्तिम हप्ताबाट पर्याप्त मात्रामा पाउन थालेको आँपको सिजन सकिँदै गएपछि बजारमा महंगिन थालेको हो ।
बजारमा मौसमअनुसार फलफूल भित्रिने गर्छ । उक्त समयमा मूल्य सस्तिन गई उपभोक्ताले सस्तो मूल्यमा उपभोग गर्न पाउँछन् । त्यस्तै, अहिले भनेको आँपको सिजन हो । त्यसैले बजारमा जताततै आँप देख्न सकिन्छ ।
जेठको अन्तिमबाट पर्याप्त मात्रामा पाइन थालेको आँपको सिजन सकिन लागेको छ । साथै, स्वदेशी उत्पादित आँप बजारमा कम मात्रामा भित्रिरहेका छन् । बजारमा स्वदेशी आँप भित्रिन छोडेसँगै मूल्य बढ्न थालेको छ ।
सिजनमा नेपालमै पर्याप्त मात्रामा आँप उत्पादन हुँदा आयात हुँदैन । तर, नेपाली बजारमा आँपको सिजन सकिँदै जाँदा भारतबाट आयात हुने गरेको छ । आन्तरिक उत्पादनले माग धान्न सक्ने अवस्थामा प्रतिकेजी ७० रुपैयाँदेखि ९० रुपैयाँसम्म बिक्री भएको थियो । तर, आन्तरिक बजारमा स्वदेशी उत्पादन आउन छोडसँगै हप्तादिनमै मूल्य ह्वात्तै बढेको छ ।
दुई हप्तासम्म औसम मूल्य प्रतिकेजी ७५ रुपैयाँमा बिक्री भएको आँप मूल्य अहिले बढेर प्रतिकेजी १३० रुपैयाँसम्म बिक्री भइरहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूचीअनुसार गत असार १६ गते मालदह आँपको औसत मूल्य थियो भने दसहरी आँपको मूल्य प्रतिकेजी ८६.६७ रुपैयाँ तोकेको थियो ।
त्यसैगरी, गत असार २१ गते मालदह आँपको औसत मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको थियो । तर, एक हप्तापछि मालदह आँपको मूल्य प्रतिकेजी १३० रुपैयाँ र दसहरी आँपको मूल्य १२५ रुपैयाँ कायम भएको छ ।
साथै, बजारमा चोसा आँपको औसत मूल्य प्रतिकेजी १०५ रुपैयाँ र कलकत्ते आँपको मूल्य ६६.६७ रुपैयाँ तोकेको छ । विकास समितिले बजारमा उपलब्ध भएको वस्तुअनुसार मूल्य तय गर्दै आएको छ । उक्त तथ्याङ्कले स्वदेशी आँप बजारमा कम आउन थालेपछि भारतीय आँप आयात हुन थालेको स्पष्ट गर्छ ।
फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले स्वदेशी आँपको सिजन सकिएसँगै भारतीय आँप भित्रिन थालेको बताए । उनकाअनुसार फलफूलमा राजा मानिने आँपको सिजनमा आन्तरिक उत्पादनले बजार धान्दै आएको छ । तर, स्वदेशी उत्पादनको सिजन सकिनै लाग्दा भारतबाट आयात हुन थालेको छ ।
‘आँपको सिजनमा अन्य फलफूलको खपत निकै कम हुन्छ । आन्तरिक उत्पादनको आँप बजारमा आउँदा प्रतिकेजी ७० रुपैयाँमा उपभोग गर्न पाउँछन् । तर, पछिल्ला हप्तादेखि स्वदेशी उत्पादन सकिँदै जाँदा मूल्य ह्वात्तै बढेको छ,’ उनले भने ।
तराईका सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायत अन्य विभिन्न जिल्लाको आँप बजारमा पाउन सकिन्छ । सिजन सुरु भएसँगै दैनिक एक सय टन भित्रिएको आँप अहिले आपूर्ति कम हुन थालेको उनको भनाइ छ ।
त्यस्तै, आन्तरिक उत्पादनको आपूर्ति कम हुन थालेपछि नेपाली व्यवसायीहरुले भारतको आँप नेपाली बजारमा ल्याउन सुरु गरेका छन् । साथै, आयातित आँप स्वदेशीभन्दा महंगो मूल्य पर्ने उनले बताए ।

प्रकाशित मिति: असार २८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend