Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमै यस्तो: न ब्याड राख्ने झन्झट, न रोपाहारको खाँचो, ९० प्रतिशत जनशक्ति घट्यो, उत्पादन पनि बढ्यो

हाम्रो कोशी आवाज
असार २९ २०८०, शुक्रबार
सुनसरीमै यस्तो: न ब्याड राख्ने झन्झट, न रोपाहारको खाँचो, ९० प्रतिशत जनशक्ति घट्यो, उत्पादन पनि बढ्यो

नवीन गड्तौला

सुनसरी: सुनसरीको इनरुवा–९ का किसान सुखपाल मेहताले कृषिमा केही नयाँ विधि प्रयोग गर्न थालेपछि ‘टेन्सनमुक्त’ भएको अनुभव गर्न थालेका छन् ।
१ वर्ष अघिदेखि परम्परागत प्रणालीभन्दा केही फरक तरिकाले खेती गर्दा तनाव कम हुनुका साथै उब्जाउ पनि बढी भएको उनको अनुभव छ ।
उनले अघिल्लो वर्ष ब्याडमा बिउ राख्नु नपर्ने, हिलो खेतमा सीधै धानको बिउ छर्ने प्रविधिको बारेमा युटुब हेरेर चाल पाए । तुरुन्तै त्यसलाई पछ्याएर, फोन नम्बर पत्ता लगाएर काठमाडौँको कम्पनीमा सम्पर्क गरे ।
त्यसको केही दिनमै उनको घरमा आइपुग्यो– धानको बिउ छर्ने ड्रमसिडर मेसिन । झन्डै १८ हजार रुपैयाँमा उनको घरमै मेसिन झर्‍यो ।
मेसिन त आइपुग्यो, तर कसरी प्रयोग गर्ने ? इन्टरनेट र प्रविधिमैत्री उनलाई त्यसको पनि खासै चिन्ता थिएन । मेसिन मगाउनुअघि नै उनले त्यसबारे जानकारी लिएका थिए, युट्युबबाटै । नबुझेका कुरा उनले फेरि युट्युब कोट्याए र ‘सर्च’ गर्न थाले ।
उनले अघिल्लै वर्ष ८ बिघा खेतमा यो प्रविधिको प्रयोग गरेर ‘राम’ धान लगाए । उनकै सिको गरेर पोहोरै उनका केही छिमेकीले पनि यसै गरे । मुस्किलले कठ्ठाको ४ मन धान उब्जाउँदै आएका उनले कठ्ठाको साढे ५ मनका दरले धान भित्र्याए ।
कृषिमा यान्त्रिकीकरणले किसानको लागत, समय, जनशक्ति त बचाएकै छ, उब्जनी पनि बढी हुनाले किसानको आकर्षण बढ्दो क्रममा छ । इनरुवा–९ तथा २ नम्बर वडाका किसानले झन्डै सय बिघा जमिनमा यसपालि ड्रमसिडर मेसिनको प्रयोग गरी धान छरेका छन् ।
यो मेसिनमा भएको प्लास्टिकका ४ वटा बट्टाबाट एकनासले धान छरिने हुँदा धान झुल्ने बेलामा एक लाइनले फलेको धानको बोट हेर्दा पनि राम्रो देखिने उनी बताउँछन् । यो विधिले खेती गर्दा खेतको आली लगाउन र बिउ छर्न मेसिन तान्ने मान्छेबाहेक अरू जनशक्तिको प्रयोग हुँदैन । जोत्न ट्रयाक्टर र काट्न पनि हार्भेस्टर मेसिनको प्रयोग गरिने हुँदा मानव जनशक्तिमा हुने खर्च ९० प्रतिशतले कम हुने उनको अनुभव छ ।
राम धानको बिउ प्रतिबिघा १० देखि १२ किलो लाग्ने सुखपाल बताउँछन् । धान छर्ने खेत जोतेसँगै धानको बिउ २४ घन्टा भिजाउनुपर्छ । खेत हिलो हुँदै गर्दा भिजेको बिउलाई पानी तारेर जुटको बोरामा २४ देखि ३६ घन्टासम्म बाँधेर राख्नुपर्छ । यति गरेपछि धानको बिउमा टुसा उम्रिन्छ र बिउ छर्नलाई योग्य हुन्छ । हिलो खेतमा घाँस मार्ने औषधि पनि छर्नुपर्छ ।
टुसा उम्रेको बिउ ड्रमसिडरको ४ वटा साना बट्टामा हालेर, चक्कासहितको मेसिन खेतमा गुडाएर धान छरिन्छ । धान छर्ने बेलासम्म खेतको पानी सुकाएर छिपछिप मात्रै पार्नुपर्छ ।
किशोरकिशोरीदेखि वृद्ध उमेरसम्मका मानिसले यो मेसिन सजिलै तान्न सक्छन् । एक जना जनशक्तिले एक दिनमा ३–४ बिघा जमिनमा धान छर्न सकिन्छ । यो विधिले छरेको धानमा किरा पनि कम लाग्ने गरेको बताउँदै मेहता भन्छन्, ‘किराको प्रकोप नहुँदा उत्पादन पनि बढ्ने नै भयो ।’
‘ट्रयाक्टरले खेत जोत्यो, काट्न नि हार्भेस्टर ! आली लगाउन र धान छर्ने मेसिन तान्नमात्र मान्छे लाग्यो, त्यत्ति नै हो,’ मेहता भन्छन्, ‘टेन्सनमुक्त हुनका लागि त यसो पो गर्नुपर्ने रहेछ ।’

प्रकाशित मिति: असार २९ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • धरानमा ल्याइएको अकबरे खुर्सानीमा भेटियो अत्याधिक मात्रामा विषादी

    धरानः धरान भित्रिएको अकबरे (डल्ले) खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ । धरान–१३ स्थित कृषि बजारमा भित्रिएको अकबरे खुर्सानीमा विषादी भेटिएको हो । भोजपुरका किसानबाट...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend