Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको ११, १५ र १७ मा डेंगु संक्रमित बढी, बीपी प्रतिष्ठानमा छुट्टै डेंगु क्लिनिक शुरुवात

हाम्रो कोशी आवाज
साउन १ २०८०, सोमबार
धरानको ११, १५ र १७ मा डेंगु संक्रमित बढी, बीपी प्रतिष्ठानमा छुट्टै डेंगु क्लिनिक शुरुवात

धरानः धरानमा गत असार २९ गते देखि ३१ गतेसम्म १ सय २१ जनाको परीक्षण गरिएकोमा ९६ जना (७९.३५) मा डेंगु संक्रमण देखिएको पाइएको छ ।
धरानस्थित बीपी प्रतिष्ठानमा गरिएको परीक्षणमा धरानको १५, १७ र ११ नम्बर वडाबाट डेंगु बढी संक्रमितहरु देखिएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिएका छन् ।

धरान लगायत वरपरका अन्य जिल्लाहरुमा व्यापकरुपमा फैलिँदै गएको डेंगु रोगको प्रकोपको नियन्त्रण तथा सर्वसाधारणले सहजरुपमा उपचार पाउन सकुन् भन्ने उद्देश्यले प्रतिष्ठान तथा धरान उपमहानगरपालिकाको सहकार्यमा २०८० असार २९ गतेदेखि प्रतिष्ठानको जीओपीडी भवन अगाडि छुट्टै डेंगु क्लिनिक सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।
क्लिनिक सञ्चालनका लागि प्रतिष्ठानबाट चिकित्सक, नर्स, पारामेडिक्सलगायत अन्य जनशक्तिको व्यवस्था गरेको छ भने धरान उपमहानगरपालिकाले ५ सय थान डेंगु परीक्षण किट उपलब्ध गराउनुका साथै उपचारका लागि आउने सर्वसाधारणका लागि टेन्ट, कुर्सीको व्यवस्था गरेको छ । हप्ताको सातै दिन सञ्चालनमा रहने क्लिनिक आइतबारदेखि शुक्रबारम्म बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म र शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्म सञ्चालनमा आउने जनाइएको छ । क्लिनिकमा आउने बिरामीहरुका लागि डेंगुको परीक्षण निःशुल्करुपमा गरिने व्यवस्था गरिएको छ ।
डेंगु क्लिनिकमा परीक्षणमा आउँदा बिरामीले सर्वप्रथम ओ.पी.डी. टिकट लिई क्लिनिकमा जानुपर्ने हुन्छ । त्यहाूँ रहेका चिकित्सक, नर्सहरुले जाँच गरेपश्चात रयापिड किटको माध्यमबाट परीक्षण गरी डेंगु भए नभएको तुरुन्तै पत्ता लाग्नेछ । परीक्षणबाट डेंगु संक्रमित देखिएमा अन्य आवश्यक जाँच तथा परीक्षणहरुका लागि प्रतिष्ठानको ल्याबमा पठाइन्छ ।
घातक हुनसक्ने लक्षणहरु जस्तैः रक्तचापमा कमी हुनु, प्रेसर कमी, मुटुको धड्कन बढ्नु, गिँजा तथा शरीरमा आएका डाबरहरुबाट रक्तश्राव हुनु, छिनछिनमा वान्ता हुनु, पेट दुख्नु आदि भएका बिरामीहरुलाई इमर्जेन्सी पठाई उपचार गरिने व्यवस्था गरिएको छ ।
परीक्षणबाट डेंगु देखिएका तर स्वभाविक लक्षणहरु जस्तैः उच्च ज्वरो, शरीर तथा हाडजोर्नीहरुको दुखाई, वाकवाकी, पखाला, कमजोरी, शरीरमा डाबर (कसैकसैलाई) आदि भएका बिरामीहरुलाई भने चिकित्सकको परामर्श दिई घर पठाउने वा अवस्था हेरी प्रतिष्ठानमै उपचार गरिने व्यवस्था गरिएको छ ।
यसरी छुट्टै सञ्चालित डेंगु क्लिनिकका कारण बिरामीहरु निःशुल्क परीक्षणलगायत चिकित्सकको उपचार सेवा सहजरुपमा पाउंदा गरेकोमा सर्वसाधारणले राहत महसुस गरी खुशी व्यक्त गरेको प्रतिष्ठानका प्रवक्ता समेत रहेका डा.पोखरेलले बताए ।

प्रकाशित मिति: साउन १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend