Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णु मेमोरियल स्कुलमा निःशुल्क क्लिनिक

हाम्रो कोशी आवाज
साउन २ २०८०, मंगलबार
धरानको विष्णु मेमोरियल स्कुलमा निःशुल्क क्लिनिक

धरानः ‘बाबु, धेरै धन्यवाद है, यति सजिलोसँग हामी बुढाबुढीलाई डाक्टरसँग जाँच्न सुविधा दिएकोमा’ उर्लाबारीबाट स्वास्थ्य जाँच गर्न आएका खोमनाथ प्याकुरेलले भने । परिवर्तनका लागि सामाजिक अभियानद्वारा पाक्षिकरुपमा शनिबारका दिन आयोजना हुने सामाजिक स्वास्थ्य क्लिनिकमा स्वास्थ्य परीक्षणपश्चात् प्याकुरेलले आयोजकप्रति आभार व्यक्त गरेका थिए । अभियानले करिब २ वर्ष अगाडिदेखि यो क्लिनिकको आयोजना गर्दै आएको छ ।
‘४१ औं संस्करणसम्म आयोजना गरिसकेको यो निःशुल्क क्लिनिकमा विशेषगरी ७० वर्षभन्दा माथिका बुबाआमाहरुको स्वास्थ्य परीक्षण गर्ने गरिन्छ’ अभियानका अध्यक्ष बरालले भने । बरालका अनुसार मुटुरोग, रक्तचाप र मधुमेहसम्बन्धी जाँच गरिने यो क्लिनिक धरानका विभिन्न वडाहरु र झापा गाउँपालिका, इनरुवा, बराहक्षेत्रमा समेत आयोजना गरिएको छ ।
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रशान्त शाहद्वारा परीक्षण गरिने क्लिनिकमा निःशुल्क स्वास्थ्य परीक्षण, सुगर जाँच र औषधि वितरण गर्ने गरिन्छ । ७६ जना बिरामीहरुको स्वास्थ्य जाँच गरिएको यस क्लिनिकमा नर्स रेनु चौधरीले रक्तचाप परीक्षण र सुगर टेष्ट गरेकी थिइन् ।
अभियानका अभियन्ताहरु वर्षा अग्रवाल, हेम ढकाल, जेनिश शाक्य, प्रशान्त अग्रवाल, राजु फुयाँल, मोहन श्रेष्ठ लगायतकाहरुले कार्यक्रमको व्यवस्थापन गरेका थिए । सामाजिक संघसंस्था, वडा कार्यालय र विद्यालयहरुको सहकार्यमा आयोजना गरिने यो कार्यक्रमको ४१ औं संस्करण विष्णु मेमोरियल स्कुलमा आयोजना गरिएको थियो । विद्यार्थीहरुका अभिभावकहरुको पनि स्वास्थ्य जाँचका लागि कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल निलमकुमार श्रेष्ठले बताए । ‘सहकार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा परिवर्तनका लागि सामाजिक अभियानप्रति हार्दिक आभार’ श्रेष्ठले भने ।

 

प्रकाशित मिति: साउन २ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend