जरिवाना रकम बैंकमार्फत् तिर्न सकिने व्यवस्था
धरानः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीले कोशी प्रदेशमा पहिलोपटक ट्राफिक जरिवाना वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने र सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख राख्न शुरुवात गरेको छ ।
पहिलो चरणमा यो प्रणाली श्रावण १ गतेबाट मोरङको बिराटनगर महानगरपालिका, सुनसरीको धरान र इटहरी उपमहानगरपालिका, झापाको बिर्तामोड र दमक नगरपालिका भित्रका क्षेत्रहरुमा लागू गरिएको छ ।
ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरुलाई ट्राफिक प्रहरीले नियमानुसार जारी गर्ने २४ घण्टे पुर्जी दिइने र नजिकको राष्ट्रिय वाणिज्य बैंकमार्फत् राजश्व दाखिला गरेपश्चात् मात्र ट्राफिक कारवाहीका लागि खिचिएका कागजपत्र फिर्ता दिइने छ ।
सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेको अभिलेख व्यवस्थित गरिने भएको हुँदा ५ पटक भन्दा बढी सवारी नियम उल्लंघन गर्ने चालकहरुको नियमानुसार सवारी चालक अनुमति पत्र निलम्बन हुने कानुनी व्यवस्था रहेको समेत जनाइएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६ बमोजिम ट्राफिक प्रहरीलाई प्रत्यायोजित अधिकार बमोजिमनियमानुसार नगदी रसिदमार्फत गरिँदै आएको जरिवानालाई प्रविधिमैत्री एवं पारदर्शी बनाइ व्यवस्थित गर्न यो प्रणाली शुरुवात गरिएको ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।











