धरान: सुनसरीको धरान उपमहानगरपालिकामा फैलिएको डेंगी संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ ।
डेंगी संक्रमणका कारण ३ महिला र ४ पुरुष गरी ६ जनाको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
डेंगी महामारीको रुपमा फैलिदासमेत तीनै तहका सरकारले चासो देखाएका छैनन् । समयमै डेंगी नियन्त्रण नहुँदा धरानमा दैनिक बिरामीको संख्या पनि वृद्धि भएको छ । डेंगीको संक्रमणले धरानमा प्रत्येक घरका सदस्य बिरामी भएका छन् ।
धरान २ का एक पुरुष र सोमबार धरान १० का अर्का पुरुषको मृत्यु भएको स्वास्थ्य महाशाखा प्रमुख मेहताले बताए । यस भन्दा अगाडी चारजनाको डेंगुको कारण मुत्यु भइसकेको छ । धरान उपमहानगरपालिकामा ५ हजार भन्दा बढि सर्वसाधारणलाई डेंगी संक्रमण देखा परेको छ ।
धेरै जसो संक्रमितहरु निको भइसकेका छन् । दैनिक डेंगी संक्रमित हुनेको संख्या पनि २ सय भन्दा बढि रहेको छ । डेंगी संक्रमितहरु धरानको बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र निजी मेडिकलहरुमा उपचार गराइरहेका छन् ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले यस अगाडी कोभिड अस्पताल सञ्चालन गरेको स्थानमा डेंगीको उपचार सेवा सुरु गरेको प्रतिष्ठानका उपकुलपति प्रा।डा। प्रल्हाद कार्कीले बताए ।