धरानः धरानमा डेंगुको प्रकोप फैलिँदो छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई स्वास्थ्यकर्मीको टोलीसहित अहिले स्कुल स्कुलमा पुगिरहेका छन् ।
आइतबारदेखि मेयर साम्पाङ धरानका स्कुलमा पुग्ने अभियान थालेका हुन् । विशेषतः डेंगुको प्रकोपलाई रोक्न लार्भा खोज र नष्ट अभियान नै प्रभावकारी देखेर धरान उपमहानगरपालिकाले यसमा जोड दिएको हो । ‘लार्भा खोज र नष्ट (सर्च एण्ड डिष्ट्रोय) अभियान नै प्रभावकारी हुने देखियो’, मेयर साम्पाङले भने, ‘त्यही भएर यो कुरा विद्यार्थीलाई सुनाइयो, पढाइयो र ज्ञान दिइयो भने अभिभावक हुँदै सबै घरघरमा पुग्ने र लार्भा नष्ट हुनेछ भन्ने आशा गरेका छौं ।’
मेयर साम्पाङ विरुवा रोप्न मात्रै कुद्ने तर डेंगुजस्तो महामारी रोक्न खासै काम नगरेको जनगुनासो बढ्न थालेपछि मेयर साम्पाङ ४ बजेपछि घरघरमा र दिनभरीजसो स्कुल स्कुल पुग्ने लक्ष्यका साथ हिँडिरहेका छन् ।
आइतबार स्वास्थ्यकर्मीसहित मेयर साम्पाङ नै धरान निजी स्कुल इमानुएल, इष्टर्न, कार्मेल साथै सामुदायिक स्कुल पञ्चकन्या, ज्ञानोदय, शारदा बालिका र पब्लिक हाइस्कुल पुगेर सचेतना अभियान सञ्चालन गरे । उनले विद्यार्थीहरुलाई आफ्नो घरमा लार्भा खोज र नष्ट गर्न सहयोग गर्न आग्रह गरे । उनले प्रत्येक घरका विद्यार्थी, अभिभावक जुटे पनि महामारी रोकथाममा सहयोग पुग्ने बताए ।
स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले घरमा रहेका गमला, ट्याङ्की, टायर, बङ्गुरको डुँड, सफा पानी जम्ने खाल्डाखुल्डीलगायतमा पानी जम्न दिन नहुने बताए । ‘जे होस् धरानबासी सबैजना एकसाथ लाग्ने र यस्तो कुरालाई सहजै बुझिदिएपनि धेरै हदसम्म डेंगुले लार्भा जन्माउन पाउँदैन’, उनले भने, ‘यसको लागि सबै धरानबासीको पूर्ण साथ र समर्थन जरुरी देखिएको छ ।
धरानमा हालसम्म डेंगुको महामारीले ८ जनाको मृत्यु भइसकेको उनले जानकारी दिए । स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५, १६, १७ ४ मा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान चलाइसकेको छ ।
डेंगुको महामारी फैलिएर नगरबासीको ज्यानसमेत जान थालेपछि उनीहरु खोज र नष्ट गर (सर्च एण्ड डिष्ट्रोय) अभियानलाई अझै तीब्रता दिइने उनले जानकारी दिए ।
मेयर हर्क साम्पाङले धरानका टोल विकास संस्था (टिएलओ) हरुलाई बोलाएर लार्भा खोज र नष्ट गर अभियान चलाउन भनेका थिए । त्यसपछि अहिले घरघरमा र स्कुल स्कुलमा पुग्ने अभियान पनि चलाइएको हो । पानी जमेको ठाउँमा लार्भा भेटिए नष्ट गर्ने र स्थानीयलाई त्यसबारेमा सजग पनि गराउने काम अभियानको क्रममा भइरहेको छ । यस्तै, लक्षण देखिएकालाई तत्काल परीक्षण गर्ने र आवश्यक सुझाव दिने, औषधी पनि दिने काम भइरहेको छ ।
लामखुट्टेले सफा पानीमा फुल पार्छ । यसको टोकाइबाट जोगिन घर भित्र र वरपर पानी जम्न नदिन, शरीर ढाक्ने कपडा लगाउन, खाल्डाखुल्डी पुर्न, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, खाली भाँडाकुँडा घोप्ट्याएर राख्न तथा सुत्ने बेला झुलको प्रयोग गर्न डाक्टरको सुझाव छ ।
तस्वीरहरुः हाम्रो कोशी आवाज


























