धरानः धरान-तरहरा सडक खण्डमा दुई ठाउँमा वन्यजन्तुका लागि जैविक मार्ग निर्माणको तयारी थालिएको छ ।
बनेको सडक सडक फराकिलो रहेको र वन्यजन्तुहरुका लागि निकै जोखिमपूर्ण बन्दै गएपछि यस्तो योजना अघि सारिएको डिभिजन वन कार्यालय सुनसरीका प्रमुख धर्मनाथ यादवले जानकारी दिए । अहिले पनि सो सडकमा बनिनसक्दै अत्याधिक गतिमा गुड्ने सवारी साधनहरुले वन्यजन्तुहरुलाई ठक्कर दिएर मार्ने क्रम बढेको छ । वन्यजन्तुसँग सवारीसाधन ठोक्किँदा चालक र यात्रुहरु पनि घाइते हुने गरेका छन् ।
उनका अनुसार धरानको तीनकुने केही तल र सेउती खोला मुनि त्यस्तो मार्ग निर्माणको पहल भइरहेको छ । उनका अनुसार वन्यजन्तुका लागि हिँडडुलका लागि सजिलो होस् भनेर जैविक मार्ग निर्माणमा आफूले सक्दो जोड दिँदै आएको र मन्त्रालयसम्म कुरा लगिसकेको समेत बताए । उनले सडक कार्यालय, प्रशासन, वन मन्त्रालय, प्रदेश निर्देशनालय राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका निकायमा समेतमा यो करा पुरयाइसकिएको उनले जानकारी दिए । ‘वन्यजन्तु ओहोरदोहोर गर्ने मार्ग बनाइयो भने दुर्घटना कम हुने साथै वन्यजन्तु पनि जोगिन्छन् ।’ उनले भने, ‘त्यसका लागि मैले मन्त्रालयसम्म पनि कुरा लगिसकेको छु ।’
चारकोशे झाडी हुँदै विशेषतः हात्तीहरु आसामदेखि आउने र जैविक मार्ग नबन्दा अलमलिँदै सुनसरीमा हात्ती आतंक बढ्दो रहेको हुनाले पनि सो बाटो सहज गरियो भने हात्तीहरु पनि सहजै कोशी टप्पुसम्म पुग्न सहज हुने उनको भनाइ छ । उनले बाटो माथिबाट र अन्डर ग्राउण्डको मार्ग निर्माण गर्न सकिने बताए ।
यो सडकमा यसअघि पनि पटक–पटक कुरा उठेपनि कार्यान्वयन हुन सकेको छैन । पहिला सडक साँघुरो थियो र अहिले सडक फराकिलो बनेको हुनाले पनि यसको आवश्यकता देखिएको उनले बताए । उनका अनुसार जैविक मार्गका विषयमा नसोच्दा जनावर मान्छेका बस्तीमा पस्ने जोखिम दिनदिनै बढेका हुनाले पनि यो आवश्यकता देखिएको हो ।
