धरानः धरानमा नेकपा एमालेले पनि डेंगुको संक्रमण फैलन नदिन ‘खोज र नष्ट गर’ अभियान शुरू गरेको छ ।
शुक्रबारदेखि वडा वडामा पस्ने अभियानका साथ लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम थालेको नेकपा एमाले धरान नगर सचिव राजेन्द्र राईले जानकारी दिए ।
धरान–८ सभागृहमा भेला भएर एमालेले अभियान थालेको हो । नेकपा एमालेका नेता, कार्यकर्ता सहभागी भएर विशेषज्ञसहितको टोली लिएर अभियान थालेको हो । डेंगु नियन्त्रणका लागि फगिङ साथै स्प्रे लिएर टोल टोल, वस्ती वस्तीमा छिर्न थालिएको उनले जानकारी दिए । धरानस्थित सभागृहबाट थालिएको अभियान धरान ८ र १९ मा सञ्चालन हुने उनले जानकारी दिए । नगर हर्कजङ एभेङका अनुसार धरानका २० वटै वडामा अभियान सञ्चालन गरिनेछ ।
खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी फाल्दै आफूहरु लागिपरेको उनले जानकारी दिए । धरान उपमहानगरपालिकाले पनि अहिले ‘माइकिङ’, सञ्चारमाध्यममार्फत् सचेतना र मेयर हर्कराज राई साम्पाङ आफै पनि घरघरमै स्वास्थ्यकर्मीको टोलीसहित खोज र नष्ट गर अभियान लिएर दिनहुँ पुगिरहेका छन् ।
अहिले दलहरु नै जुटेर यसरी अभियान चलाउन थालेपछि धरानबासीले यसलाई राम्रो सन्देश हो समेत भनिरहेका छन् ।
धरान उपमहानगरपालिकाले धरान–१ स्थित पुरानो अस्पतालमा डेंगुको शंका लागेमा तुरुन्त अस्पतालमा जाँचको लागि आउन आग्रह गरेको छ ।
‘लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु रोकथामको सबैभन्दा उत्तम विकल्प हो,’ धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले भने, ‘सर्वसाधारण स्वयं बढी सचेत हुन आवश्यक छ ।’ लामखुट्टेको टोकाइबाट बच्न, घर वरिपरि पानी जम्ने ड्रम, खाली बट्टा, पुराना टायर नराख्न, शरीर ढोक्ने गरी लुगा लगाउन उनले सबैमा अनुरोध गरे ।
डेंगु ‘एडिस एजिप्टाइ’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ । उक्त लामखट्टेले दिनमा मात्र टोक्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । डेंगुको संक्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तश्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा पर्छन् । डेंगुको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गरिन्छ ।
धरानमा डेंगुको संक्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ । तस्वीरः विकास चाम्लिङ

