Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा डेंगु संक्रमण घट्दो, जोखिम भने कायमै

हाम्रो कोशी आवाज
भाद्र १९ २०८०, मंगलबार
धरानमा डेंगु संक्रमण घट्दो, जोखिम भने कायमै

धरान: सुनसरीको धरानमा डेंगु संक्रमण दर केही घटेपनि जोखिम भने कायमै रहेको छ ।
उपमहानगरपालिकाको तथ्याङ्क अनुसार धरानमा डेंगु सङ्क्रमणबाट हालसम्म १३ जनाको मृत्यु भइसकेको छ ।
जसमा सबैभन्दा धेरै वडा नम्बर ११ रहेको छ । उक्त वडामा डेंगुबाट ४ जनाको मृत्यु भएको छ । वडा नम्बर १५ र १८ मा २/२ जना र अन्य वडाहरु २, ५, १०, १६ र १७ मा १/१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना महिला र ६ जना पुरुष छन् । उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार यो तथ्याङ्क जेठ तेस्रो सातायताको हो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताका अनुसार भदौ १८ गते सोमबार परीक्षण भएकोमध्ये ६२ प्रतिशतमा डेंगु देखिएको छ । हिजो २०३ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसमध्ये १२५ जनामा डेंगु भेटिएको हो । यस्तै हालसम्म डेंगु परीक्षण २० हजार ९७० जनामा गरिएको छ । जसमध्ये झन्डै १५ हजार अर्थात् १४ हजार ९८१ जनामा डेंगु देखिएको छ । यो ७१ प्रतिशत हो ।
‘संक्रमण दर अलिक कम भएको छ । विभिन्न संघ संस्थाले पनि अभियान चलाइरहेका छन्,’ मेहताले भने, ‘पहिले पहिले ९० प्रतिशत भन्दा बढीमा डेंगु देखिएको थियो । अहिले कम भएको छ । तर, जोखिम कायमै छ । फेरि बढ्न सक्छ ।’
उनले सर्च एण्ड डिस्ट्रोए अभियान जारी राखेको र विभिन्न संघसंस्थाहरुको सहयोग बढेको पनि बताए । ‘सुरुमा ९० प्रतिशतसम्म गएको कारण अहिले संक्रमण दर धेरै घटेको नदेखिएको हो,’ उनले भने, ‘धेरै समय ८० प्रतिशतको हाराहारीमै संक्रमण दर रहेको थियो ।’
धरानमा चार महिना अघिदेखि डेंगु संक्रमण फैलिएको थियो । गत असारदेखि संक्रमणदर ७० देखि ७२ प्रतिशत कायम छ । संक्रमण दर स्थिर रहे पनि निःशुल्क स्वास्थ्य शिविरहरूमा, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्ष र डेंगी अस्पतालमा उपचार गर्न जानेको सङ्ख्यामा भने केही कमी आएको जनाइएको छ ।
भदौ १ गते देखि ९ गतेसम्म डेंगु संक्रमितको सङ्ख्या दैनिक २ सय देखि २ सय ७० जना पाइएको थियो भने भदौ दोस्रो सातामा दैनिक सरदर १५० जना पोजेटिभ पाइएका छन् । पछिल्लो तीन दिनयता भने दैनिक सरदर सय जनालाई डेंगु संक्रमण हुने गरेको पाइएको छ ।
स्वास्थ्यकर्मीहरूका अनुसार पछिल्लो समय कतिपयलाई दोहोर्‍याएर पनि डेंगी संक्रमण भइरहेको छ । फाट्टफुट्ट मात्र डेंगीको लार्भा मार्ने सर्च एण्ड डिस्ट्रोयको काम हुने गरेको बताइएको छ ।
भदौरे झरी र गर्मी मौसम कायमै रहेकाले अझै केही साता धरानमा डेंगु संक्रमण जारी रहने भएकाले सतर्कता अपनाउनु पर्ने र जाडोको मौसम सुरु भएपछि संक्रमण दर र संक्रमितको सङ्ख्या घट्ने जनस्वास्थ्यविदहरुले बताएका छन् । साथै संक्रमितमध्ये १–२ प्रतिशतलाई स्वास्थ्यमा जटिलता आउनसक्ने र ज्यानै जान सक्ने भएकाले दीर्घरोगी, बालबालिकाको स्वास्थ्यप्रति संवेदनशील हुन सुझाव दिएका छन् ।
धरानमा खानेपानीको अभाव छ । पानीको अभाव पूर्ति गर्न वर्षाको समयमा ड्रममा पानी जम्मा पारेर राख्ने चलन छ । डेंगु त्यहाँ बढी बस्छ । डेंगुको प्रकोप प्रि मनसुन, मनसुन र पोष्ट मनसुनमा हुन्छ । मनसुन सिजन अहिले हो । फागुन चैत महिनामा ३/४ सय केस इटहरीमा देखिएको थियो । तर, इटहरीमा महामारीको रुप लिन पाएन ।
धरानमै अहिले डेंगु देखिनुको कारण पानीको अभाव हुनु र जम्मा गरेर राख्नु हो । अर्को वनजंगलको क्षेत्र बढी छ । जंगलका रुखको टोड्काहरुमा पनि पानी जमेको छ भने त्यो पनि डेंगुको घर हो । यस्तै फूलका गमलाहरु पनि धरानमा धेरै छन् । गमलाको पिँधमा रहेको प्लेटमा पानी रहँदा त्यहाँ पनि डेंगुको घर बनेको छ । गमलाहरूमा पनि देखिएको छ । अर्को पानी जम्मा गरेर राखेको ट्याङ्कीहरू घरघरमा छन् । त्यसमा पनि डेंगु बस्ने देखिएको छ । अर्को सुँगुरको खोर धेरै छ । त्यहाँबाट पनि डेंगु सरिरहेको छ । सुँगुर भएको ठाउँमा धेरै हिलो मैलो देखिन्छ । डेंगुले सफा पानीमा फूल पारे पनि फोहोरमा हुर्किन्छ ।
यस्तै कतिपय सडकको ड्रेन तथा नालीहरू पनि सफा छैन । धरानमा डेंगु, मलेरिया र कालाजार रोग सार्न सक्ने खालको लामखुट्टै पाइएको छ । धरानमा ०७७ र ७८ मा फाट्टफुट्ट मात्रै डेंगु देखिएको थियो । त्यतिबेला १०२ जना संक्रमित भएका थिए । २०७५ सालको अन्तिम र २०७६ को सुरुवातमा पनि डेंगुको संक्रमण फैलिएको थियो । त्यसबेला ४ हजार ३ सय मानिस संक्रमित भएका थिए । त्यतिखेर पनि सर्च एण्ड डिस्ट्रोए र फगिङ गरिएको थियो । तर, त्यसबेलाको भन्दा यो पटकको डेंगु संक्रमण धेरै भएको हो ।

प्रकाशित मिति: भाद्र १९ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend