धरानः धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण भएको छ ।
धरान–१५ खोरिया वस्तीमा रहेको घरमा बेघाका भाइ २३ वर्षीय विष्णु बेघामाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको प्रहरीले जनाएको छ । विष्णुमाथि १५ देखि २० जनाको समूह आएका युवाहरूले घरमै आएर खुकुरी हानेको प्रहरीले जनाएको छ ।
खुकुरी प्रहारबाट बेघाको देब्रेपट्टिको गालामा चोट लागेको छ । सूर्य बस्तीका समूहमा आएका युवाले बेघालाई खेदाएको देखेको स्थानीयबासीले बताएका छन् । प्रहरीका अनुसार अहिले केही व्यक्तिहरु पक्राउ समेत परिसकेका छन् ।
घरमा समेत तोडफोड हुँदा उपमेयर बेघाको घरको झ्यालको सिसा फुटेको स्थानीयले बताएका छन् । घर तोडफोड गर्न थालेपछि तत्काल खबर गर्दासमेत प्रहरी नपुगेको उपमेयर बेघाले गुनासो गरेका छन् ।
घटना के कारणले भएको हो भन्नेबारेमा अहिलेसम्म केही खुलिनसकेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । धरानमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएका छन् ।