Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा दुई महिलाको हत्या !

हाम्रो कोशी आवाज
असोज १ २०८०, सोमबार
सुनसरीमा दुई महिलाको हत्या !

सुनसरीः सुनसरीमा दुई महिलाको हत्या भएको छ ।
इनरुवा नगरपालिका ३ की २३ वर्षीया निकिता चौधरी र कोशी गाउँपालिका ७ हरिपुरकी ३० वर्षीया उषा महतोको हत्या गरिएको पाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए ।
निकिताको श्रीमान् ३२ वर्षीय नागेन्द्र भगतले हत्या गरेको मृतकका आफन्तले आरोप लगाएका छन् । निकिताका भाइ राकेश चौधरीले दाइजोका नाममा भिनाजु भगतले घाँटी थिचेर दिदीको हत्या गरेको आरोप लगाए । दाइजोका विषयमा विवाद भएपछि गएराति १० बजेको समयमा भगतले घरको सुत्ने कोठामा निकिताको घाँटी थिचेर हत्या गरेको राकेशको दाबी छ ।
भगतले विवाह गरेको २१ महिनापछि थप दाइजो ल्याउन निकितालाई दबाब दिएर यातना दिने गरेको भाइ राकेशले बताएका छन् । निकिताको मृत्युपश्चात माइती पक्षले दाइजोको निहुँमा निकिताको हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा कर्तव्य ज्यान सम्बन्धी जाहेरी दिएका छन् ।
यस्तै, सुनसरीकै कोसी गाउँपालिका ७ स्थित हरिपुरमा ३० वर्षीया एकल महिला उषा महतोको हत्या गरिएको छ । उनको १९ वर्षीय देवर सन्तोष महतोले फोनमा अरूसँग कुरा गरेको आरोपमा विष खुवाएर हत्या गरेको घटना सार्वजनिक भएको छ ।
एक वर्षअघि दाजुको मृत्यु भएपछि भाउजुलाई अंश दिनुपर्ने भनेर गलत मनसायका साथ पटकपटक कुटपिट गर्दै आएकोमा भदौ ३० गते झुक्याएर विष खुवाइ बेहोस बनाएका कारण उषाको मृत्यु भएको बताइएको छ ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: असोज १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend