धरानः संविधान दिवसको अवसरमा बुधबार प्रजातान्त्रिक विचार समाज सुनसरी शाखाद्वारा समृद्धिको यात्रामा नेपालको संविधान २०७२ विषयक वतृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।
वक्तृत्वकला प्रतियोगितामा धरानका सहभागी कलेज तथा विद्यालयका १३ विद्यार्थीहरुले भाग लिएका थिए । धरान मेघा हिमालयन कलेजका सम्पन्न सुवेदीले २२.५५ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेर नगद ४ हजार र प्रमाणपत्र समेत पाए भने धरान मोडल कलेजकी समीक्षा राईले २०.६ अंक प्राप्त गरेर द्वितीय स्थान हासिल गरी नगद ३ हजार र प्रमाणपत्र पाइन् । त्यसैगरी धरान–१२ स्थित पब्लिक माविकी जिज्ञासा भट्टराईले १९.७५ अंक प्राप्त गरेर नगद २ हजार र प्रमाणपत्र पाइन् । प्रतियोगितामा चौथो (सान्त्वना) पुरस्कारस्वरुप चन्द्र संस्कृत माविका सृजन खतिवडाले नगद १ हजार र प्रमाणपत्र समेत प्राप्त गरे ।
प्रतियोगिताका प्रमुख निर्णायकहरुमा प्रजातान्त्रिक समाजका पूर्व सभापति प्राडा आनन्द आचार्य, प्राध्यापक भवानीशंकर भट्टराई र विदुर राई रहेका थिए । प्रतियोगितामा चन्द्र संस्कृत माविका हेमन्त खनाल, महेन्द्र बहुमुखी क्याम्पसका बालकुमारी गुरुङ, प्रेरणा राई, धरान आदर्श कलेजकी सुमना कार्की, आकृति शंकर, विधाभूषण बोर्डिङ स्कुलका दिलुपा लिम्बू, शिक्षा निकेतनका स्मृति राई, एलिना कार्कीले समेत सहभागिता जनाएकी थिइन् ।
प्रतियोगिताका विजेता तथा सहभागीहरुलाई पुरस्कार तथा प्रमाणपत्र कार्यक्रमको प्रमुख अतिथि एवं नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापा, प्राडा जीवन कुमार राई, प्राडा गोपाल भण्डारी, सुनसरी क्षेत्र नम्बर १ का सभापति सुजेन्द्र तामाङ गोले, नेपाली कांग्रेस प्रदेश सभा १(२) का सभापति मुरारी भट्टराईद्वारा वितरण गरिएको छ ।
कार्यक्रमको सभापतित्व प्रजातान्त्रिक विचार समाजका सुनसरी अध्यक्ष यमनाथ बरालले गरेको थियो भने कार्यक्रम सञ्चालन समाजकी सचिव एवं प्राध्यापक सीता खतिवडाले गरेकी थिइन् ।
तस्वीरहरुः लक्ष्मण थापा





