धरानः अस्पतालसम्म जान र पुग्न समस्या भएका जेष्ठ नागरिकहरुलाई लक्षित गरी टोल समुदायमा नै हाडजोर्नी शिविर सम्पन्न गरिएको छ ।
बीपी अस्पतालका हाडजोर्नी विभागका प्रमुख प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको अगुवाइमा सिद्धि नेवाः परिषद् धरानमा सो शिविर सम्पन्न भएको हो । अस्पतालसम्म पुग्न र त्यहाँको प्रक्रिया पूरा गर्न र पालो कुर्न समस्या हुने बिरामीहरुलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको प्रा.डा. श्रेष्ठले जानकारी दिए । उमेर ढल्किँदै जाँदा घुँडा खिइने, ढाडको नशा च्याप्पिने जस्ता हाडजोर्नीको समस्या धेरैलाई हुने गरेको र उपचारको अभावमा उनीहरुले धेरै समस्या खेप्नु परेको डा. श्रेष्ठले बताए । सामान्य कसरत र केही औषधि सेवन गर्नाले हाडजोर्नीको समस्याबाट बच्न सकिने उनको सुझाव थियो । औषधि समेत निःशुल्क वितरण गरिएको शिविरमा ९८ जनाले स्वास्थ्य सुविधा लिएका थिए ।
सिद्धि नेवाः परिषद्ले सामाजिक उत्तरदायित्व पूरा गर्ने सबैजात जाति र वर्गकालाई स्वास्थ्य सेवा दिन निःशुल्क जेष्ठ नागरिक हाडजोर्नी शिविरको आयोजना गरिएको परिषद्का अध्यक्ष राजविमल श्रेष्ठले जानकारी दिए । सिद्धि नेवाः परिषद्ले धरानका विभिन्न रोगका विषशज्ञ डाक्टरहरुबाट दुई दुई महिनामा स्वास्थ्य शिविर अयोजना गर्ने योजना बनाएको सिद्धि नेवाः परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी दिए ।
यसअघि डा. इच्छा जोशी सोनीबाट आँखा शिविर, डा. प्रसान्त शाहबाट मुट्टु रोग सम्बन्धी शिविर, डा. सन्दिप बज्राचार्यबाट पेट सम्बन्धी शिविर सञ्चालन गरिसकिएको छ । हाडजोर्नी सम्बन्धी विशेषज्ञ प्रा.डा. श्रेष्ठ र उनका टिममा अन्य १० जाना डाक्टरहरुको टिमबाट स्वास्थ्य सेवा लिन पाएकोमा सहभागीहरु खुशी भएका थिए ।
शिविरमा सम्पन्न औपचारिक कार्यक्रममा सेवा दिन सहभागी भएका डाक्टरहरुको टिम र निःशुल्क औषधि व्यवस्था गर्ने विभिन्न ६ औषधि कम्पनीका प्रतिनिधिहरुलाई खदासहितले कृतज्ञता ज्ञापन गरिएको थियो । कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गोकुलप्रसाद श्रेष्ठ, कार्य समितिका पदाधिकारी एवम् विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

