Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नाष्टको अनुसन्धान केन्द्र स्थापना, धरानका प्रा.डा. सुब्बाले ल्याए कार्यक्रम

हाम्रो कोशी आवाज
असोज १० २०८०, बुधबार
धरानमा नाष्टको अनुसन्धान केन्द्र स्थापना, धरानका प्रा.डा. सुब्बाले ल्याए कार्यक्रम

धरानः धरानमा नेपाल विज्ञान, प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले धरानमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । धरान उपमहानगरपालिकाको सहकार्यमा केन्द्र स्थापना हुन लागेको हो ।
बुधबार धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले धरान–१५ स्थित रेयुकाइको भवन कार्यालयका प्रयोजनका लागि अवलोकन समेत गराएका छन् । मेयर साम्पाङसँगको छलफलपछि प्रतिष्ठानका उपकुलपति प्रा.डा. दिलीप सुब्बालाई सो भवन देखाएका हुन् ।
गत वर्षदेखि सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय भएको र यस वर्ष धरानमा यसको कार्यालय स्थापना गर्न लागिएको उनले जानकारी दिए । केन्द्रले धरानलगायत प्रदेश १ स्तरमा विज्ञान तथा प्रविधि क्षेत्रमा विभिन्न खोज एवं अनुसन्धानका कार्य गर्ने उनले जानकारी दिए । यसले धरानलाई शैक्षिक हब बनाउन सबै लागिरहँदा सहयोग पुग्ने विश्वास समेत लिइएको छ । अब धरानसहित प्रदेश १ मा विज्ञान र प्रविधिको अनुसन्धानबाहेक शैक्षिक हब बनाउन, कृषि क्षेत्र, खाद्य प्रविधिलगायत विभिन्न कार्यक्रम हुनेछन् ।
त्यस्तै, केन्द्रले विभिन्न अध्ययन, अनुसन्धान कार्यलाई व्यवस्थित बनाउँदै त्यसमा संलग्न जनशक्तिलाई सहयोग उपलब्ध गराउने छ । धरानस्थित हात्तिसार क्याम्पसको प्रमुख समेत भइसकेका डा. सुब्बाले धरानमा यो कार्यक्रम ल्याएका हुन् । उनी धरान निवासी हुन् । उनको घर धरानस्थित भोटेपुलमा छ ।
नाष्ट भनेको राष्ट्रिय प्रतिष्ठान हो । प्रधानमन्त्री यसको कुलपति रहनेछन् । यो विज्ञान प्रविधिको सर्वोच्च राष्ट्रिय संस्था हो ।

 

प्रकाशित मिति: असोज १० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend