धरानः धरानमा व्यवसायीहरु आफैंले आफूखुशी बङ्गुरको मासुको मूल्य बढाएका छन् ।
अहिले धरानमा मासुको अधिकतम खुद्रा मूल्य प्रति किलोग्राम ५०० रुपैयाँ बङ्गुरको मासु बिक्री भइरहेको छ ।
यसैबीच धरान उपमहानगरपालिकाले आइतबार व्यवसायीहरुलाई बोलाएर के, कति कारणले मूल्यवृद्धि भएको कारण खुलाउन भनेको छ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, प्रशासकीय प्रमुख मातृका भट्टराई, अनुगमन अधिकृत वेदप्रसाद सापकोटा र व्यवसायीबीच भएको छलफलमा मेयर साम्पाङले कारण नखुलाइ आफूखुशी मूल्यवृद्धि गर्नु गैरकानुनी भएको बताए ।
‘तपाईहरु आफैंले जुन एकलौटी ढङ्गले मूल्यवृद्धि गर्नुभएको छ, त्यो ठीक भएन’, मेयर साम्पाङले भने, ‘के कति कारणले मूल्यवृद्धि भएको हो, त्यो खुलाएपछि मात्रै मूल्य निर्धारण गरौं ।’
उपमेयर बेघाले सोमबार पनि व्यवसायीसँग बसेर छलफलको माध्यमबाट मूल्य तोकिने बताए । ‘अहिलेको मूल्य ४ सय नै हो, धरान उपहानगरपालिकाले मूल्य तोकेको छैन, सोमबार छलफल गर्नेछौं, त्यसले फिक्स मूल्य निर्धारण हुनेछ ।’ यसअघि गत असार ३ गते धरान उपमहानगरपालिकामा बंगुरको मासुको मूल्य प्रतिकेजी ४०० रुपैयाँ तोकेको थियो । त्यतिबेला प्रतिकेजी ३ सय ६० रूपैयाँबाट मूल्य बढेर ४ सय हुन रुपैयाँ पुगेको थियो ।
उता व्यवसायीले भने धरानमा बंगुर कम मात्रै पाइने गरेको र बाहिरबाट खरिद गरेर ल्याउँदा महङ्गोमा बेच्नुपरेको बताएका थिए । बंगुरपालन गर्दै आएका किसानहरुकै हितका लागि आफूहरुले भाउ बढाएको उनीहरुको दावी छ ।
उपभोक्ताहरुले भने तीन महिनामै आफूखुशी मूल्य बढाइनु न्यायोचित नभएको र आफूहरु मर्कामा परेको गुनासो गर्न थालेका छन् ।