Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीमा यात्रु सहायता कक्षको शुभारम्भ, चाडबाडमा बढी भाडा लिने, यात्रु तान्नेलाई तत्काल कारवाही

हाम्रो कोशी आवाज
असोज २१ २०८०, आइतबार
इटहरीमा यात्रु सहायता कक्षको शुभारम्भ, चाडबाडमा बढी भाडा लिने, यात्रु तान्नेलाई  तत्काल कारवाही

धरानः इटहरीमा यात्रु सहायता कक्षको शुभारम्भ भएको छ । इटहरी बसपार्कमा यात्रु सहायता कक्षको शुभारम्भ गरिएको हो ।
नेपालीहरुको महान् चाड बडादशैं, शुभ दिपावली एवं छठ पर्वको अवसरमा देशका विभिन्न स्थानबाट आवतजावत गर्ने यात्रु महानुभावहरुको सुविधालाई मध्यनजर गरी यात्राका क्रममा यात्रुहरुलाई आइपर्न सक्ने समस्यालाई तत्काल सम्बोधन गर्ने उद्देश्यका यस्तो कक्षको शुभारम्भ गरिएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
चाडपर्व अवधिभरका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको आयोजनामा सुनसरी जिल्लाका प्रमुख जिल्ला अघिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा अतिथीज्यूहरुले सार्वजनिक सवारीका साधनहरुमा ट्राफिक नियम पालना सम्बन्धी स्लोगान अंकित स्टिकरहरु टाँस गर्नुका साथै चाड पर्वको समयमा यात्रुहरुलाई बढी भाडा लिने, यात्रुलाई जथाभावी तान्ने, यात्रु गुन्टाको असुरक्षा, आरक्षण सिटको कार्यान्वयन नगर्ने, सिट क्षमता भन्दा बढी यात्रु कोचाकोच गरी राख्ने, जेष्ठ नागरीक, महिला तथा बालबालिकाहरुलाई सम्मानजनक व्यवहार प्रस्तुत नगर्ने, यात्रुहरुलाई गन्तव्य सम्म नपुरयाउने, एक भन्दा बढी व्यक्तिलाई एकै सिटको टिकट काट्ने, झुटा टिकट काटी यात्रुलाई बिचल्ली बनाउने भए यात्रु सहायता कक्षमा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।
यस्तै, मापदण्ड बिपरीत सवारी सञ्चालन गर्ने, असभ्य व्यवहार गर्ने, यात्रुहरुलाई अस्वस्थ्यकर खाने कुरा बेचबिखन गर्ने लगायतका गैर कानुनी क्रियाकलाप गरी यात्रुलाई असुविधा पुरयाउने किसिमका कार्यहरु कोही कसैले नगर्न हुन र गरेको थाहा भए तुरुन्तै यात्रु सहायता कक्ष तथा सुरक्षा निकायमा जानकारी गराउनुपर्ने जनाइएको छ ।
प्रजिअ पाण्डेले यात्रुमैत्री व्यवहारमा बाधा पुरयाउने र यात्रुलाई असुविधा सिर्जना गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याई कारवाही गर्न निर्देशन समेत दिइन् ।
यात्रुहरुको सुविधालाई ध्यानमा राखी कोशी प्रदेशमा झापाको काकडभिट्टा, बिर्तामोड, दमक, मेचीनगर, इलामको फिक्कल, धनकुटाको धनकुटा बसपार्क, हिले, साँगुरीगडी, तेह्रथुमको लालीगुँरास चौक, म्याङलुङ, उदयपुरको त्रिनपा बसपार्क, पाँचथरको फिदिम बसपार्क, भोजपुरको देउराली, खोटाङको शहिदगेट, ताप्लेजुङको फुङलिङ (तोक्मेडाँडा), संखुवासभाको जिरो पोइन्ट, सुनसरीको कोशी गापा शिवचौक र इटहरीको बसपार्क समेत गरी हालसम्म १९ स्थानहरुमा यात्रु सहायता कक्षको स्थापना गरिएको छ । यही असोज २८ गते सम्म अन्य थप २८ स्थान भन्दा बढी स्थानहरुमा समेत यात्रु सहायता कक्षको स्थापना गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: असोज २१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend