धरानः धरानस्थित बीपी प्रतिष्ठानका आन्दोलनरत् शिक्षक, चिकित्सकहरुको मागलाई असोज २६ सम्म सरकारले ठोस निष्कर्ष ननिकालेमा सामूहिक राजीनामा दिने घोषणा गरेका छन् ।
प्रतिष्ठानका शिक्षक कल्याण समाजको नेतृत्वमा ५५ जना शिक्षक चिकित्सकहरु बस नै रिजर्भ गरेर काठमाडौंमा राज्य खोज्दै हिँडेका छन् । प्रतिष्ठानभित्र रहेका डाक्टरहरुको संस्था शिक्षक कल्याण समाज र प्रतिष्ठानबीच चिकित्सकहरुको बढुवा प्रक्रियालगायत विभिन्न मागसहित गत भदौ २४ गते एकखाले सहमति गरेको तर महिना बितिसक्दा पनि कुनै पहल कदमी नभएपछि सरकार खोज्दै काठमाडौं जानुपरेको समाजका अध्यक्ष डा.सेराज अहमद खानले जानकारी दिएका छन् ।
प्रतिष्ठानका १५० जना भन्दा बढी शिक्षक र चिकित्सकहरुले हस्ताक्षर गरिसकेको र असोज २६ गतेभित्र प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीले मागको कुनै ठोष निष्कर्ष ननिकालेमा काठमाडौंबाटै सामूहिक राजीनामाको घोषणा गर्ने उनले चेतावनी दिए । संघर्ष समितिका सह–संयोजक डाक्टर विष्णु पोख्रेलले अहिलेसम्म मागको कुनैपनि सुनवाई नभएकोले आफूहरु राज्य खोज्दै काठमाडौं पुगिरहनुपरेको बताए । डाक्टर मधुर बस्नेतले आफूहरुको माग सम्बोधन नभए काठमाडौंबाट सामूहिक राजीनामा दिएर बाटो लाग्ने निष्कर्षसहित आफूहरु लागिपरेको बताए ।
उता डाक्टरहरुको टोली काठमाडौं लागेपछि बिरामीको विचल्नी भएको छ । ६ बजेदेखि ओपिडी कार्ड लिन पालो पर्खेर बसेका बिरामीलाई ९ बजेपछि मात्रै कर्मचारीले ओपिडी कार्ड वितरण थालेका थिए । निर्धारित समयमा काउन्टर खुल्ने–नखुल्ने यकिन नहुँदा पालो पर्खेर बसेका बिरामीहरु आक्रोशित समेत बनेका थिए ।
तस्वीरहरुः लक्ष्मण थापा