Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा बंगुरको मासुको मूल्य ४६० कायम

हाम्रो कोशी आवाज
असोज २४ २०८०, बुधबार
धरानमा बंगुरको मासुको मूल्य ४६० कायम

धरानः धरानमा व्यवसायीहरु आफैंले आफूखुशी बङ्गुरको मासुको मूल्य बढाएपछि धरान उपमहानगरपालिकाले छलफल चलाएको छ ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङ, उपमेयर अइन्द्रविक्रम बेघा, अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, उपभोक्ता विजय अछामी, नेपाल पत्रकार महासंघका सहसचिव तिर्थ कार्की र व्यवसायीबीच भएको छलफलले धरानमा बङ्गुरको मासुको मूल्य ४६० तोकिएको छ ।
व्यवसायी आफैंले मासुको अधिकतम खुद्रा मूल्य प्रति किलोग्राम ५०० रुपैयाँ पुरयाएका थिए । यसअघि नै बसेको बैठकमा उपमहानगरपालिकाले मासुको मूल्य ४६० तोकिसकेको थियो । त्यसबेला चर्काचर्की समेत हुँदै व्यवसायी बैठकबाट बाहिरिएर आन्दोलनमा होमिएका थिए ।
धरान मासु व्यवसायी संघको नेतृत्वमा मंगलबार जर्बजस्ती मासु पसलहरु बन्द गराएको भन्दै अन्य मासु व्यवसायीले गुनासो समेत गरेका थिए । उनीहरुले बंगुरको मासुको मूल्यको विवाद अन्य मासु (खसी, कुखुरा र माछा) मा पनि थोपरिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै विरोध समेत गरेका थिए । त्यसपछि संघले आन्दोलनको स्वरुप परिमार्जन गर्दै बङ्गुरको मासु पसल मात्रै बन्द गर्ने निर्णयमा पुगेको थियो ।
बुधबारको छलफलमा मासु व्यवसायीले सबै मिसाइएको बङ्गुरको मासु ५०० रुपैयाँमा बेच्न पाउनुपर्ने माग राखेका थिए तर मेयर र उपमेयर नै यस निर्णयमा मानेनन् । अन्ततः बङ्गुरको मासु ४६० मै बेच्नुपर्ने र विज्ञसहितको समितिले छलफल गरेर मात्र मासुको मूल्य निर्धारण हुने निर्णय भएको अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए ।
गएको साउन १ गतेदेखि लागू हुने गरी ३६० प्रतिकिलो मासुको मूल्य बढाएर ४ सय पुरयाइएको थियो । तीन महिना नबित्दै उपमहानगरपालिकासँग समन्वय नगरी व्यवसायी आफैंले आफूखुशी मूल्यवृद्धि गरेपछि उपभोक्ताले उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका थिए । उपमहानगरपालिका मातहतको बजार अनुगमन समितिले छलफलमा संघलाई बोलाएको थियो ।
‘तपाईहरु आफैंले जुन एकलौटी ढङ्गले मूल्यवृद्धि गर्नुभएको छ, त्यो ठीक भएन’, मेयर साम्पाङले भने, ‘अबदेखि विज्ञ समितिको छलफलले मात्रै मासुको मूल्य निर्धारण गरौं ।’
उपमेयर बेघाले बङ्गुरको मासुको मूल्य ४६० फिक्स गरिएको बताए । उता व्यवसायीले भने धरानमा बंगुर कम मात्रै पाइने गरेको र बाहिरबाट खरिद गरेर ल्याउँदा महङ्गोमा बेच्नुपरेको बताएका छन् । उपभोक्ता विजय अछामीले तीन महिनामै आफूखुशी मूल्य बढाइनु न्यायोचित नभएको र आफूहरु मर्कामा परेको बताए ।

प्रकाशित मिति: असोज २४ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend