धरानः धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा दुई साताभन्दा बढी समयदेखि कक्षा सञ्चालन नहुँदा विद्यार्थीहरु मर्कामा परेका छन् ।
बढुवा रोक्का विषयको माग राख्दै आन्दोलित शिक्षक कल्याण समाजका १ सय ७७ जना शिक्षकहरुले संयुक्तरुपमा राजीनामा दिएपछि प्रतिष्ठानको शैक्षिक गतिविधि ठप्प भएको हो । विभिन्न संक्रमणकालीन अवस्थामा समेत शैक्षिक गतिविधि नरोकिएको अवस्थामा अहिले दुई साताभन्दा लामो समयदेखि पठनपाठन नै ठप्प भएको र परीक्षा समेत हुन नसकेको भन्दै विद्यार्थी कल्याण समाज अध्यक्ष डा. ओमशान्ति रजकले जानकारी दिए ।
विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. रजकले संक्रमणकालीन अवस्थामा समेत शैक्षिक गतिविधि नरोकिएको बताउँदै सरकारले शिक्षकहरुको जायज मागलाई सम्बोधन नगर्दा शिक्षकहरुले कामै छोडेर आन्दोलन गरेको र भर्खरमात्र सामूहिक दिएको राजीनामाले विद्यार्थीहरुको भविष्यमाथि समस्या भएको बताए । उनले शिक्षकहरुको जायज मागलाई सम्बन्धित निकायले सम्बोधन गरेर चाँडो निकास दिनका लागि शान्तिपूर्ण र्यालीसहित सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको बताए ।
विद्यार्थी कल्याण समाजकी सचिव जमुना वनले सात वर्षभन्दा लामो समयदेखि बढुवाको प्रक्रिया रोकिँदा शिक्षकहरु आन्दोलित हुनु स्वभाविक भएको बताक्ष्न् । प्रतिष्ठानले पदाधिकारीहरुद्वारा माग पूरा गराउन नसकेपछि केन्द्रमै गएर माग पूरा गराउन खोज्दा समेत बेवास्ता गरेपछि शिक्षकहरुले सामूहिक राजीनामा दिएको र त्यसपछि शैक्षिक गतिविधि झन अस्तव्यस्त बनेको बताइन् ।
प्रतिष्ठानका शिक्षकहरुले रोकिएको बढुवा प्रक्रियालाई निरन्तता दिनुपर्ने माग राख्दै शैक्षिक शाखामा तालाबन्दी गरेर आन्दोलन शुरु गरेका थिए । आन्दोलनको कारण विद्यार्थीहरुको शैक्षिक गतिविधिमात्र हैन परीक्षा नै अवरुद्ध भएको थियो । लामो आन्दोलनपछि प्रतिष्ठानका पदाधिकारी र आन्दोलनरत शिक्षकबीच भदौ २४ गते रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्ने सहमति भएको थियो ।
तर सहमति भएको झण्डै एक महिना वितिसक्दा पनि मागको सुनुवाई नभएपछि शिक्षकहरुले असोज १९ गते एक विज्ञप्ती प्रकाशित गदै असोज २२ गतेदेखि काम छोडेर विरोध जनाएका थिए । प्रतिष्ठानले आफूहरुमो माग पूरा गर्न नसक्ने देखेपछि शिक्षकहरुले कुलपति अर्थात प्रधानमन्त्री र सहकुलपति तथा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराउदै काठमाण्डौ केन्द्रित आन्दोलनमा समेत सम्बन्धित पक्षले गम्भीरता नदेखाएपछि गत बुधबार उनीहरुले सामूहिक राजीनामा दिएका थिए ।
सामूहिक दिएको राजीनामाका कारण शैक्षिक गतिविधिमा मात्र हैन, प्रतिष्ठानको उपचार सेवामा समेत प्रभावित भएको छ । विद्यार्थीहरुले शिक्षहरुको आन्दोलनका कारण शैक्षिक गतिविधि नै ठप्प भएको र विद्यार्थीको भविष्य डामाडोल भएको भन्दै प्रतिष्ठानका चारैजना पदाधिकारी, डिन कार्यालयमा असोज २३ गते ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र बुझाए पनि शैक्षिक गतिविधि सुचारु हुन नसकेपछि सम्बन्धित पक्षको ध्यानाकर्षणका लागि दबाबमूलक रयाली निकालेको उनीहरुको भनाइ रहेको छ ।
यसैबीच प्रतिष्ठानका विद्यार्थीहरु नै आन्दोलित बनेका छन् । विद्यार्थीहरुको संगठन विद्यार्थी कल्याण समाजको व्यानरमा उनीहरुले ‘विद्यार्थीको हक सुनित गरौं, पढ्ने र पढाउने वातावरण बनाऔं’ लेखेको ब्यानर बोकेर बीपीको होस्टेलबाट उपकुलपतिको कार्यकक्षसम्म रयाली निकालेका थिए । उनीहरुले शान्तिपूर्ण रयाली निकाल्दै प्रतिष्ठानका जिम्मेवार पदाधिकारी तथा नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरुले बोकेको प्लेकार्डमा ‘शिक्षा हाम्रो हक हो, बिपि हाम्रो घर हो । हाम्रो पीडा कसले सुन्ने कस्ले बुझ्ने ? जायज मागमा किन ढिलासुस्ती सरकार ?, शिक्षक एकातिर सरकारवाला अर्कोतिर विद्यार्थीको मर्का कस्ले बुझ्ने लगायतका उल्लेखित गरिएको छ ।
तस्वीरहरुः लक्ष्मण थापा





